सेती नदीमा र्‍याप्टिङको सम्भावना बढ्दै

बझाङ । पछिल्लो समय बझाङको सेती नदीमा साहसिक खेल र्‍याप्टिङको सम्भावना बढ्दै गएको छ । आन्तरिक पर्यटकहरू र्‍याप्टिङका लागि भन्दै सेती पुग्न थालेका छन् ।

दुई साता अघिबाट यहाँ र्‍याप्टिङ सुरु भएको हो । सुरु भएको दुई साता मै प्रत्येक दिन ५० जना भन्दा बढिले र्‍याप्टिङको मज्जा लिइरहेको स्थानीय तेजेन्द्र खड्काले जानकारी दिए ।

‘यहाँ सुदूरपश्चिमका सबै जिल्लाबाट र्‍याप्टिङका लागि आउने गरेका छन्’ उनले भने ‘दुई सातामै र्‍याप्टिङको राम्रो सम्भावना देखिएको छ ।’

बझाङको प्रसिद्ध धार्मिक स्थल तपोवनबाट सदरमुकाम चैनपुर सम्म र्‍याप्टिङ गर्ने गरिएको छ । करिब ८ किलोमिटरको दुरीका लागि प्रत्येक व्यक्तिले २ हजार ५ सय तिर्ने गरेको जिल्ला समन्वय समिति सदस्य डबल बहादुर बोगटीले बताए ।

पर्यटन व्यवसायी किशोर खड्काले र्‍याप्टिङ सेवा सुरु गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख खड्क बहादुर खड्का र जयपृथ्बी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्काले संयुक्त रूपमा दुई साता अघि र्‍याप्टिङ उद्घाटन गरेका थिए ।

‘सामान्य सम्भावना हेरेर र्‍याप्टिङ सुरु भइरहेको थियो तर अहिले लोभलाग्दो अवस्थामा फस्टाइरहेको छ’ जिसस सदस्य बोगटीले भने ‘हामी अहिले उत्साहित छौँ ।’

आइतबार नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अफिलाल ओखेडा, प्रदेश कमिटी सदस्य जनक राज जोशी, युवा संघका केन्द्रीय उपाध्यक्ष प्रकाश रोकाया, अखिलका केन्द्रीय सचिव लोकेन्द्र सिंह लगायतले पनि र्‍याप्टिङ गरेका थिए । उनीहरूले सेती नदीमा र्‍याप्टिङको सम्भावना बढी रहेको हुँदा सरकारी स्तरबाटै यसको प्रवर्द्धनमा चासो दिनु पर्ने बताए ।

‘सुदूरपश्चिम प्रदेशमा यस्ता धेरै सम्भावनाका क्षेत्र छन् । यस्ता क्षेत्रहरूको सरकारी स्तरबाट सम्वर्द्धन र प्रचार प्रसार हुनुपर्छ’ पूर्व मन्त्री समेत रहेका एमाले नेता थापाले भने, ‘यी सम्भावना बेचेर सुदूरपश्चिमलाई समृद्ध बनाउन सकिन्छ । ’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *