काठमाडौं । देशभर पछिल्लो समय बनिरहेका भ्यु टावरबारे अहिले सामाजिक सञ्जालमा व्यापक मात्रामा टिकाटिप्पणी भइरहेको छ । विपन्न मुलुकमा यतिधेरै भ्यू टावर किन ? भनेर धेरैजसोले नेताहरूको आलोचना नै गरिरहेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावरका योजनाहरूको प्रतिरक्षा गरेका छन् । पार्टीनिकट उद्योगी व्यवसायी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्यू टावरको विरोध गर्नेहरू धरहरा बनाउने भीमसेन थापाको समेत विरोध गरिरहेको भनेर जवाफ फर्काएका छन् ।
‘यिनीहरू भीमसेन थापालाई पनि मूर्ख भन्छन् । धरहरा बना’थे नी !,’ उनले भने, ‘धरहरामा कति मुरी धान फल्यो ? कति दूध दियो धरहराले ? कती धार्नी मासु फल्यो ? कति पाठा ब्यायो ? यिनीहरू त खोज्दा रहेछन यस्तो !’
समाज भनेको दाल, भात, तरकारी मात्र नभएको उनको भनाइ थियो ।
लुगा लाउनु, ओडारमा बस्नु मात्रै समाज नभएको बताउँदै ओलीले भने,‘त्यसैकारण हामीले भनेका छौं । जैविक र मानवीय आवश्यकताको न्यायोचित र उच्चतम् परिपूर्ति आज विज्ञान प्रविधिसमेतले उपलब्ध गराएका सम्पूर्ण सुविधाहरूको यथोचित आपूर्ति उपभोगको अधिकार जनतालाई हुनुपर्छ ।’
मलेसियामा ट्वीन टावर बनाउँदा महाथीर मोहब्बदलाई पागल भनेको दृष्टान्त सुनाउँदै ओलीले आज अन्तर्राष्ट्रियरूपमा ट्रेड सेन्टर, इकोनोमिक सेन्टर र मलेसिया चिनिने टावरका रूपमा स्थापित भएको बताए ।

Leave a Reply