प्रहरी अधिकृतको सरुवामा चलखेल, सर्लाहीका एसपी ६ महिनामै तानिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सर्लाहीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ६ महिनामै कृष्ण प्रसाईंलाई फिर्ता बोलाएको छ ।

प्रहरी महानिरीक्षक शैलेष थापाले बुधबार प्रसाईंको स्थानमा एसपी प्रविण पोखरेललाई पठाएका छन् । प्रसाईंलाई गत कात्तिकमा मात्र त्यहाँ पठाइएको थियो ।

इन्चार्जका रूपमा एक वर्ष पूरा नभइ सरुवा गर्न नहुने व्यवस्था भए पनि पछिल्लो समय प्रहरी प्रधान कार्यालयले जिल्ला प्रमुखहरूको समय नपुगी सरुवा गरिरहेको छ ।

सोमबार मात्र प्रहरी प्रधान कार्यालयले मोरङका प्रहरी प्रमुख जनार्दन जिसीलाई तानेको थियो । उनले ९ महिना मात्र अघि त्यहाँको जिम्मेवारी सम्हालेका थिए ।

प्रहरी प्रधान कार्यालयले विवादित एसपी रामेश्वर यादवलाई सिन्धुपाल्चोकको नेतृत्व दिएको थियो । त्यसअघि स्थानीय नेताहरूकै बलमा एसपी राजन अधिकारी १५ महिनाभन्दा बढी समय सिन्धुपाल्चोक बसेका थिए ।

इन्चार्जका रूपमा लगातार तराईका जिल्लाको जिम्मेवारी नदिइने व्यवहारिक अभ्यास रहे पनि पछिल्लो समय प्रहरी प्रधान कार्यालयले नै यसको धज्जी उडाइरहेको छ । पोखरेलसहित, नवराज अधिकारी, कृष्ण पंगेनीलगायत एसपीले लगातार तराईका जिल्लाको नेतृत्व गर्ने अवसर पाइरहेका छन् ।

Comments

One response to “प्रहरी अधिकृतको सरुवामा चलखेल, सर्लाहीका एसपी ६ महिनामै तानिए”

  1. ksp pyl Avatar
    ksp pyl

    गृहले एक हातमा दाम लिएर अर्काे हातमा सरूवा वा बढुवाकाे पत्र लिन आउ भनेर अभियान नै चलाए जस्ताे देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *