काठमाडौं । चीन सरकारद्वारा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री सेरबहादुर देउवाको उपस्थितिमा विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण गरेका हुन् ।
नेपालका तर्फबाट परराष्ट्रमन्त्रीले साँचो लिए । कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत पदाधिकारी सहकागी थिए ।
साँचो हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कदरपत्र प्रदान गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ ।
उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेशन, फिनिसिङ लगायतका काम रहेको छ । विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना सङ्क्रमणका कारण एक वर्षपछि सरेको हो । उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ ।

यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।

Leave a Reply