पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाण्डौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगतलाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । सञ्चारिका समूहको आठौँ अधिवेशन तथा २५औँ वार्षिक साधारणसभामा उनले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पुर्याउन सञ्चार माध्यमको भूमिका रहेको उपराष्ट्रपति पुनको जोड थियो ।  पछिल्लो समय सञ्चारमाध्यमप्रति नागरिकको गुनासो उत्तिकै रहेको उनले बताए  ।  उनले भने, “नागरिकमा चेतना बढ्दा गुनासा बढिरहेकाले त्यो सम्बोधन गर्न लाग्नुपर्छ ।” पत्रकार आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सजग रहनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिए । सञ्चारमाध्यमले आम नागरिकको रचनात्मक, चेतनात्मक र आलोचनात्मक चेत विकास गर्नुपर्ने उनले उल्लेख गरे  ।

पत्रकार महिलाको घरपरिवार र कार्यस्थलमा गरी दोहोरो जिम्मेवारी रहने गरेको बताउँदै पत्रकार महिलाले दूरदराजमा रहेका हिंसापीडित महिलाका बारेमा आवाज उठाउनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिए । पत्रकार महिलाले नै पीडित महिलाका पीडा बुझ्नसक्ने उनको भनाइ छ ।

सञ्चारिका समूहकी अध्यक्ष नीतु पण्डित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय सूचना आयोगका पूर्व सदस्य यशोदा तिमल्सिना, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, पत्रकारद्वय निर्मला शर्मा र बबिता बस्नेतले सञ्चारिकाको आगामी नेतृत्वले संस्थाको छवि अझै उँचो बनाउने विश्वास व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *