नयाँ बजेट : शहरी विकासलाई ४५ अर्बको सिलिङ

काठमाडौं । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । राष्ट्रिय योजना आयोगबाट आर्थिक वर्ष २०७९/८० का लागि चालुतर्फ ३९ अर्ब र पुनर्निर्माण ६ अर्बको सिलिङ प्राप्त भएको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले जानकारी दिए ।

२०७८/७९ का लागि गत वर्ष मन्त्रालयले ३१ अर्बको सिलिङ पाएको थियो । मन्त्रालयले पुनर्निर्माण झण्डै १२ अर्ब आवश्यक रहेको बताउँदै बजेटको सिलिङ बढाउन योजना आयोगलाई आग्रह गर्ने भएको छ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बजेट सिलिङमाथि छलफलमा नागरिकलाई बढी लाभ हुने योजना छनोट हुने बताइन् ।

उनले भनिन्, ‘केही कुरा हामीले कार्यक्रमबाट हटाउन आवश्यक छ, सभा हल, भ्यू टावर लगायतका कुरा अब बजेटमा राखेर परिणाम दिन सकिँदैन, गर्नै पर्ने भए सघन शहरी विकास कार्यक्रम अन्तर्गत समेटौं ।’

योजना आयोगलाई आफ्ना योजनाबारे बुझाउँदा बजेट सिलिङ बढाउन सकिने बताउँदै बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटको अनुभव हेरेर फोहोर मैला व्यवस्थापनका लागि प्राविधिक सहयोग गर्ने खालका कार्यक्रम बजेटमा समेट्नु पर्ने मन्त्री उनको जोड छ ।

मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आगामी बजेटमा नयाँ कार्यक्रम थप्नुपर्ने बताए । युटिलिटी कोरिडोरको नयाँ योजना र एकीकृत शहरी विकास योजना आगामी बजेटमा थप्नुपर्ने बताउँदै उनले भने, ‘युटिलिटी कोरिडोर र एकीकृत शहरी विकास योजना बजेटमा थप्नु पर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *