काठमाडौं । ललितपुरको सुनाकोठीका स्थानीयले वर्षोदेखि कालोपत्रे नगरेको भन्दै सडक अवरुद्ध गरेका छन् ।
स्थानीयहरुले विहानैदेखि सुनाकोठी चापागाउँ जाने मुख्य सडकमा भाटा तेर्साएर सडक अवरुद्ध गरेका थिए ।
स्थानीयको प्रर्दशनमा ऐक्यबद्धता जनाउन कलाकार मदनकृष्ण श्रेष्ठ पनि पुगे । उनी पनि स्थानीयसँग सडकमा, ‘जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइदैन’, ‘धुवाधुलो अति भो’, ‘कालोपत्रे नगरेसम्म सडक बन्द’ लगायतको प्लेकार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए ।
कलाकार श्रेष्ठले दिनमा हजारौं गाडी गुड्ने सुनाकोठीको बाटो दसौं वर्षदेखि यत्तिकै रहेको भन्दै असन्तुष्टि जनाए । कालोपत्रको माग राख्दै ठेकेदारले देश विगारेर पैसा कमाउने बुद्धि कहिलेसम्म बाक्लिने हो ? भन्दै प्रश्न समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घाममा धुलो बाक्लिँदो, वर्षामा हिलो बाक्लिँदो, सुनाकोठीका जनताहरुको स्वास्थ्यमा रोग बाक्लिँदो, पातलो न पातलो पीच गरेर कत्तिन राम्रो सडक बनाए जस्तो गरी दिनु हुने ठेकेदार महाशयहरुको खल्ती बाक्लो । सबथोक बाक्लो स्रिफ पीच मात्र पातलो । पैसा त देश बनाएर पनि कमाउन सकिनछ । देश बिगारर पैसा कमाउने बुद्धि कहिले सम्म बाक्लिने हो खै ।’
मुख्य सडक बन्द हुँदा सवारी आवागमन दिनभर अवरुद्ध भएको छ ।
सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ ।

Leave a Reply