मोरङको लेटाङमा भएको घटनाको स्थलगत अनुगमन

विराटनगर । मोरङको लेटाङ नगरपालिका–५ मा प्रहरीको मृत्यु हुने गरी भएको घटनाको स्थलगत अनुगमन गरिएको छ ।

नगरपालिकामा रहेको शिक्षा विकाश माध्यमिक विद्यालयमा भएको घटनाबारे प्रदेश नम्बर १ का प्रहरी प्रमुखसहितको टोलीले स्थलगत अनुगमन गरी घटनाबारे जानकारी लिएको हो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) अरुण कुमार बिसी, सशस्त्र बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) कमल गिरी तथा जिल्ला सुरक्षा समिति मोरङको टोलीले स्थलगत अनुगमन गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) नविनराज राईले जानकारी दिए ।

सोमबार सो विद्यालयमा अध्ययनरत छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको विषयमा वादविवाद हुँदा विद्यार्थी तथा स्थानीयले विद्यालय तोडफोड गरेका थिए ।

साथै सुरक्षाका लागि खटिएको प्रहरी टोलीमाथि पनि आक्रमण गरेका थिए । जसमा प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

मृतक प्रहरी जवानप्रति श्रद्धाञ्जली अर्पण

मोरङको विराटनगर–७ स्थित कोसी अस्पताल परिसरमा उक्त घटनामा मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पार्थिव शरीरमा प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआईजीपी बिसीले नेपाल प्रहरी संगठनको झण्डा ओढाउनुका साथै पुष्प गुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै प्रहरीको बैन्डसहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *