रुपन्देही । गर्मी मौसम सुरु भएपछि वनजंगलमा लाग्ने डढेलोलाई नियन्त्रणका लागि पाल्पाका उपभोक्ताहरुले पूर्वतयारीका विषयमा योजना बनाउन थालेका छन् ।
८७ वटा सामुदायिक वन रहेको पाल्पाको तिनाउ गाउँपालिकामा वनलाई डढेलोबाट जोगाउन यहाँका सामुदायिक वन समितिहरु एकजुट भएका हुन् ।
सबै वनहरुको साझा संस्था सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाले सोमबार दोभानमा डढेलो नियन्त्रण सम्बन्धी वृहत जनसभा गरी खडेरीको समयमा लाग्ने डढेलो नियन्त्रणका लागि सबै उपभोक्तालाई सचेत गराएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका वन वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले डढेलो नियन्त्रणको लागि पूर्वतयारी र सचेतना आवश्यक रहेको बताए ।
उनले समन्वय समितिले गरेको कामको प्रशंसा गर्दै उपभोक्ताको सक्रियताले वनमा डढेलो नियन्त्रणमा सहयोग पुग्ने गरी योजना बनाउन आग्रह गरे । वनमा डढेलोले जमिन, जंगल र जनावरको क्षति हुने भएकोले उपभोक्तालाई सचेत रहन मन्त्री हमालकोे आग्रह थियो ।
पाल्पाका डिएफओ दीपक ज्ञवालीले वनको विकास डढेलो ठूलो बाधक भएको बताउदै हुरी बतासको मौसम शुरु भएसंगै वन–जंगलमा फेरि डढेलो लाग्न थालेकोले उपभोक्ताको सक्रियता बधाउनुपर्ने बताए ।
ज्ञवालीले कार्यक्रम बनाउदा उपभोक्ताको हित र आय आर्जनसंग जोड्ने गरी ल्याउन समिति चनाखो बन्नुपर्ने बताए । चैत महिना सुरु भएसंगै सुख्खा बढ्ने हुनाले प्रत्येक वर्ष वन–जंगलमा डढेलोका घटना बढ्ने भएकाले उपभोक्ताले ख्याल गर्नु पर्ने उनको भनाइ थियो ।
तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिकाले सबै वनहरुसँग समन्वय गरी डढेलो नियन्त्रणका लागि काम गरिरहेको जानकारी दिए । डढेलोबाट वनलाई जोगाउने तयारी भने कमजोर रहेकोले वर्षेनी अमूल्य वनस्पति र वन्यजन्तु नास हुदै गएकोले सबै सचेत हुन आवश्यक रहेको बताउँदै उनले तिनाउ गाउँपालिकालाई हरित तिनाउ बनाउने गरी काम गरी रहेको योजना सुनाए ।
सामुदायिक वन समन्व्य समिति तिनाउ पाल्पाका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरूङले जल, जमिन, जंगल र जनावरको संरक्षण अहिलेको दायित्व रहेको विचार राखे ।
सामुदायिक वन समन््वय समिति तिनाउ पाल्पाका अध्यक्ष पदमलाल श्रेष्ठले डढेलो नियन्त्रण सतप्रतिसत झार्न नसकेपनि कम्तीमा ५० प्रतिशतमा झानुपर्ने बताए । उनले बन जोगाउँदा बन्यजन्तु बढेको र बन्यजन्तुले उपभोक्तालाई दुख दिएको बताउदै राज्यले बन्यजन्तुबाट जोगाउने गरी कार्यक्रम बनाउन आग्रह गरे ।

Leave a Reply