स्थानीय तह निर्वाचन आचारसंहिता : पदाधिकारीले प्रचारप्रसार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७८ सार्वजनिक गरेको छ । आयोगले आचारसंहिता, २०७८ राजपत्रमा प्रकाशित गर्दै सार्वजनिक गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार निर्वाचनमा उम्मेदवारी दिनका लागि अहिले पदमा बहाल रहेका जनप्रतिनिधि पनि उम्मेदवारी दिने भए पदबाट राजिनामा दिनुपर्ने छ ।

अहिले पदमा रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने व्यवस्था आचारसंहितामा गरिएको प्रवक्ता शर्माले नेपाल प्रेसलाई बताए ।

निर्वाचन आचार संहितको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ ।’

आचारसंहिताको परिच्छेद–३ ले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले पालना गर्नुपर्ने आचरण तोकेको छ ।

जसमा नेपाल सरका, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नपाउने भनेको छ ।

निर्वाचनमा आफैँ उम्मेदवार भएका त्यस्ता मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा प्रचारप्रसार गर्न भने रोक लगाइएको छैन ।

उनीहरुले वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था गरिएको छ ।

तर, सरुवा रोगको महामारी वा कुनै प्राकृतिक विपद् वा काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा नपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर्दै निर्वाचन आयोगले आचारसंहिता जारी गरेको हो ।

Comments

One response to “स्थानीय तह निर्वाचन आचारसंहिता : पदाधिकारीले प्रचारप्रसार गर्न नपाउने”

  1. राम बहादुर सिंजालि Avatar
    राम बहादुर सिंजालि

    देशि बिदेशि संघ संस्थाहरुका कर्मचारिहरु को बारेमा आचारसंहिता बोलेन।?

Leave a Reply

Your email address will not be published. Required fields are marked *