दीपक रौनियारको ‘द स्काइ इज माइन’मा दयाहाङदेखि भारतीय अभिनेत्री तनिष्ठा चटर्जीसम्म

काठमाडौं । भारतीय अभिनेत्री तनिष्ठा चटर्जी निर्देशक दीपक रौनियारको आगामी फिल्म ‘द स्काइ इज माइन’मा अनुबन्धित भएकी छिन् ।

सन् २००७ को फिल्म ‘ब्रिक लेन’बाट ब्रिटिस इन्डेपेन्डेन्ट फिल्म अवार्डमा उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी चटर्जी अभिनित सन् २०१५ को ‘पर्चेड’ र सन् २०१६ को ‘लायन’बाट चर्चामा छिन् ।

सन् २०१९ मा बुसान फिल्म फेस्टिभलका प्रिमियर भएको फिल्म ‘रोम रोमी मेँ’बाट उनले एसियाली फिल्ममेकरको रुपमा एसिया स्टार अवार्ड जितेकी थिइन् । सो फिल्म चटर्जीको पहिलो निर्देशकीय फिल्म समेत हो ।

डेभिड वार्कर र आशा मगरातीसँग दीपकले मिलेर लेखेको फिल्म ‘द स्काइ इज माइन’ले दक्षिण एसियामा जातप्रथाको अवस्था पेश गर्छ जहाँ छालाको रङलाई निकै महत्व दिने गरिन्छ ।

पूजा नाम गरेकी गहुँगोरो वर्णकी प्रहरी अधिकृतको कथा पेश गर्ने यो फिल्मले एक महिला जासूसको कथा भन्छ जसले शताब्दीयौं पुरानो मिथ्या तथ्यलाई तोड्ने प्रयास गर्छ ।

‘दसवर्षदेखि मैले तनिष्ठाको करिअरलाई पछ्याइरहेको छु । म उनको कामको प्रशंसा समेत गर्छु । हामीसँग समान अनुभव भएका साथीहरु पनि छन्’ दीपकले भेराइटीसँग भनेका छन् ।

आदी फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘द स्काइ इज माइन’ आगामी मे महिनादेखि छायांकन सुरु हुने जनाइएको छ । यो फिल्मका लागि दीपकले नेपाली फिल्म निर्माता प्रज्वल राणा, सिंगापुरका जेरेमी चु, नर्वेका एलेन आर मिलिगेन र फ्रान्सका क्यारोल स्कोटासँग सहकार्य गरेका छन् ।

फिल्ममा चटर्जीले ममता नामक पात्रको भूमिका निर्वाह गर्नेछिन् भने ‘ह्वाइट सन्’ फेम्ड अभिनेत्री मगराँतीले पूजाको भूमिका प्रस्तुत गर्नेछिन् । यो फिल्ममा दयाहाङ राई समेत अनुबन्धित भएका छन् ।

‘मैले फिल्म गर्नु पछाडि स्क्रिप्ट नै मुख्य कारण हो’ अभिनेत्री चटर्जीले भेराइटीसँग भनिन्, ‘मलाई पेश गरिएको चरित्र चित्रणलाई लिएर उत्साहित छु ।’

रौनियार निर्देशित छोटो फिल्म ‘फोर नाइट्स’ अहिले बर्लिन फिल्म फेस्टिभलमा स्क्रिनिङ भैरहेको छ । दीपक निर्देशित फिल्म हाइवे सन् २०१२ बर्लिनमा प्रिमियर भएको थियो भने लोकार्नोमा समेत प्रदर्शन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *