श्रमिक अस्पतालको सम्भाव्यता अध्ययन गर्न टोली गठन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गठन गरेका छन् ।

मन्त्रालयका सहसचिव एवम श्रम सम्वन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा सम्भाव्यता अध्ययन टोली गठन गरिएको हो ।

टोलीले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालन मोडालिटी लगायत पक्षबारे अध्ययन गर्ने मन्त्रालयले जनाएको छ ।

अध्ययन टोलीमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यका साथै भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिका साथै संयुक्त ट्रेड युनियन महासंघका प्रतिनिधि रहेका छन् ।

मुलुकको आर्थिक विकास र समृद्धिको आधारको रुपमा रहेका लाखौं श्रमिकलाई भरपर्दो र सर्वसुलव स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल निर्माण गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।

७० लाख बढी आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरुको परिवारका सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने उद्देश्य रहेको छ ।

सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न श्रमिक अस्पताल निर्माण जरुरी देखिएको भन्दै मन्त्री श्रेष्ठले यस अभियानमा सबैबाट आवश्यक समन्वय र सहयोगको अपेक्षा गरिएको पनि बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *