काठमाडौं । नेपालको रुट हुँदै पहिलोपटक छ्यो यु हिमाल (८१८८ मिटर) को आरोहण हुने भएको छ । नेपालबाट हालसम्म आरोहण हुन नसकेको उक्त हिमाल आरोहण मार्ग निर्माणका लागि अनुभवी १० आरोही गाइडको टोली आधारशिविरतर्फ लागेको छ ।
आरोही गाइडको टोलीले सामूहिकरूपमा पहिलोपटक छ्यो यु हिमाल आरोहणका लागि चुचुरोसम्म बाटो (रुट) निर्माण गर्ने लक्ष्य राखेको हो । आरोही गाइड प्रेम तेन्जी, गेल्जे, प्रेम दोर्जी, कर्मा, लाक्पा देण्डी, तेञ्जिङ गेल्जेन, विवस, टासी, फुरी कितर शेर्पा र गेसमान तामाङको टोली आधारशिविरतर्फ हिँडेको हो । नेपाल र चीनको सीमा रहेको छ्यो यु हिमाल नेपालतर्फबाट आरोहणका लागि पटकपटक प्रयास भए पनि सफल हुन सकेको थिएन ।
विभिन्न हिमाल आरोहणका लागि बाटो निर्माणमा सफलता प्राप्त गरेको यी गाइडहरूले यो हिमालको आरोहण रुट निर्माण गर्ने लक्ष्य राखेको गाइड लाक्पा देण्डी शेर्पाले बताए । विश्वका आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने व्यक्तिले अनिवार्यरूपमा छ्यो यु हिमालको आरोहण गर्नुपर्ने भए पनि हालसम्म तिब्बततर्फकै बाटो भएर आरोहण गर्दे आएको छ ।
नेपालतर्फबाट आरोहणका लागि बाटो निर्माण हुन नसक्दा वर्सेनी करोडौं राजश्व राज्यले गुमाउदै आएको नेपाल पर्यटन बोर्डका सदस्य ङावाङिमा शेर्पाले बताए ।
अनुभवी सक्षम गाइडहरूको टोलीले यो प्रयास गरेका कारण सफलता हात पर्ने र आरोहण बाटो निर्माण पछि वर्सेनी करोडौं राजश्व आम्दानी हुने शेर्पाको भनाइ छ । यी गाइडहरूले व्यक्तिगत र सहयोग संकलन गरेर बाटो निर्माण गर्ने तयारी गरेको जनाएको छ । छ्यो यु हिमाल आरोहीहरूको लागि आकर्षकमध्येको एक मानिन्छ ।

Leave a Reply