राइडर लुटिएकोबारे पठाओले भन्यो- अनलाइनमा यात्रा विवरण छैन

काठमाडौं । अनलाईन राइड सेयरिङ प्लेटफर्म पठाओले राइडर आफ्नै असावधानीका कारण लुटपाटमा परेको जनाएको छ ।

पठाओले सधै अनलाईनबाट मात्र बुकिङ गर्न र राइड गर्न यात्रु र राइडरलाई सुझाव दिँदै आएको भएपनि अफलाइनमा बार्गेनिङ गरेर लगेको बताएको छ ।

पठाओ मोबाइल एपको बिवरण अनुसार अपहरण र लुटपाटमा पर्ने व्यक्ति प्रविन राईले सो घटना हुनु अगाडि सामाखुसी देखि कोटेश्वरसम्म अन्तिम राइड लिएको पठाओले विज्ञप्ती मार्फत जनाएको छ ।

विज्ञप्तीमा राइडरले भनेको छ, ‘रातको ११ बजेर १८ मिनेट जाँदा सामाखुसीबाट लिएको राइड ११ बजेर ३३ मिनेट जाँदा कोटेश्वरमा टुंगिएको छ । कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनी बिवरण पठाओ एपमा उपलब्ध छैन । यसरी हेर्दा पठाओको सेवा लिँदै वा दिँदै गर्दा घटना भएको देखिँदैन । निजले बाटोमा भेटेका ब्यक्तिलाई बार्गेनिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो ।’

घटना भएको समयमा पठाओको अनलाइन राइड नभएको बताइएको छ । यस्तो राइड सुरक्षित र सुनिश्चित दुबै नहुने भएकाले अफलाइन राइड लिने र दिने काम नगर्न हामीले बारम्बार सेवाग्राही र राइडर दुबैलाई सुझाउँदै आएको पनि विज्ञप्ती मार्फत पठाओले प्रष्ट पारेको छ ।

ललितपुरको धापाखेलमा शनिबार राती आफैले चढाएर ल्याएका यात्रुबाट पठाओ‌ चालक लुटिएका थिए । यात्रु सुमन तामाङले बाटोमा सहयोगीलाई ढुक्न लगाएर २५ वर्षीय पठाओ राइडर प्रविन राईलाई लुटेका थिए ।

सुमनले धापाखेलको आँखिदहमा मनराज राईलाई कुर्न लगाएर राईको मोटरसाईकल, ८ हजार रुपैयाँ पैसा, मोबाइल लगायत सामग्री लुटेर लग‍ेको दावी प्रहरीको छ । त्यसअघि सुमन र मनराजले राईलाई मुखमा पट्टी र दुवै हात बाँधेर झाडीमा फ्याँकेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *