अन्तः शुल्क स्टिकर नेपालमै छाप्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तः शुल्क ‘स्टिकर’ को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतीस्थित आईटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका हुन् ।

‘हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदो रहेछ । त्यो तीन अरब स्टिकर छाप्न यस्ता मेसिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु’ मन्त्री शर्माले भने, ‘कमसेकम अर्थमन्त्रालयलाई आवश्यक पर्ने स्टिकर उपलब्ध गराउनुहोस् ।’

जडान हुँदै गरेका अत्याधुनिक मेसिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिएको भन्दै उनले यसको ठूलो बजार समेत रहेको बताए ।

‘यहाँ प्रिन्ट गरेर अरबौँको फाइदा मात्र गर्ने होइन, अरबौँको राजस्व थप असुल हुने पनि देखिन्छ । अहिले मन्त्रालयले अन्तः शुल्क स्टिकरबाट करिब एक खर्ब बराबरको राजस्व उठाउने गरेको छ’, उनले भने ।

यसैगरी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षण मुद्रण केन्द्र राज्यले सञ्चालन गरेका संस्थामध्ये उदाहरणीय संस्था बन्नसक्ने उल्लेख गरे ।

हाल जनक शिक्षा सामग्री केन्द्रले स्टिकर छाप्दै आएको छ । ग्लोबल टेण्डरमार्फत दुई वर्षदेखि जनक शिक्षाले वार्षिक करिब २२ करोडमा छाप्दै आएको आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *