दैलेख एमाले विवादः निर्विरोध निर्वाचित उपाध्यक्ष बस्नेतविरुद्ध थापा अदालत जाने

दैलेख । नेकपा एमाले दैलेखको सातौं अधिवेशनबाट निर्विरोध निर्वाचित भएका उपाध्यक्ष नन्दकिशोर बस्नेतविरुद्ध नारायण नगरपालिका– १ का प्रतिनिधि हरिबहादुर थापा अदालत जाने भएका छन् । योग्यता नपुगेको, विधि र विधानविपरीत अध्यक्ष मण्डलको आदेशमा निर्वाचन आयोगले उनलाई सर्वसम्मत उपाध्यक्ष चयन गरेको भन्दै थापा अदालत जान लागेका हुन् ।

उनले यसअघि निर्वाचन आयोगमा बस्नेतविरुद्ध उजुरी दिइसकेका छन् । ‘आयोगबाट सुनुवाइ नभए अदालत जान्छु’, थापाले भने ।

बस्नेत एक कार्यकाल मात्रै जिल्ला कमिटी सल्लाहकार सदस्य भएकाले पदाधिकारी हुन नपाउने भन्दै थापाले आयोगमा उजुरी गरेका हुन् । बस्नेतविरुद्ध निर्वाचन आयोगमा पुस २६ गते नै उजुरी परेको हो । उजुरीमा बस्नेतको पद खारेजीको पनि माग गरिएको छ ।

थापाले गरेको उजुरीमा भनिएको छ, ‘नेकपा एमालेको सातौ जिल्ला अधिवेशनको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएका नन्दकिशोर बस्नेत ‘एनके’को पदाधिकारी हुन पार्टीले तोकेको मापदण्ड नपुगेको हुँदा उक्त उम्मेदवारी छानबिन गरी खारेज गरिदिनु हुन अनुरोध छ ।’

नेकपा एमालेको सातौ अधिवेशन पुस २३ गते दैलेखमा उद्घाटन भएको थियो । बस्नेतको पदमा आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराजले उपाध्यक्षका लागि मनोनयन दर्ता गराएका थिए ।

एमाले पार्टी केन्द्रले एक सर्कुलर जारी गरी दुई कार्यकाल जिल्ला कमिटी सदस्य भएका मात्रै पदाधिकारी बन्न पाउने मापदण्ड तोकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *