एमालेले भारतलाई भन्यो- नेपालमाथिको बलमिचाइँ रोक

काठमाडौं । नेकपा (एमाले) ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ,’ विज्ञप्तिमा भनिएको छ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मान सरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताएका थिए ।

एमालेले यसप्रति सरकारको मौनताले अनेकौं प्रश्न उब्जाएको बताएको छ। ‘तर राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *