झापा । झापामा उपचार खर्चको अभावमा १० महिनादेखि खोरमा थुनिएका एक बालकको बिर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पतालले उद्दार गरेको छ । उद्दार गरिएका बालकको निशुल्क उपचार गरिदिने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताल टिमले शुक्रबार बालकको उद्दार गरेको हो ।
अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा वसन्तको उद्धार गर्न बीएण्डसीका कार्यकारी निर्देशक प्रसाई नेतृत्वको टीम गएको थियो ।
जन्मदेखि नै बोली नआएको बालकलाई गएको चैतदेखि खोरमा राख्न थालिएको परिवारले जनाएको छ । ‘जन्मेको ३ दिनमै मुर्छा पर्न थालेको छोराले सानैदेखि दुःख व्यहोरेको छ, यसले मात्रै होइन परिवार नै समस्यामा परेको छ,’ आमा चम्पादेविले भावुक हुँदै भनिन्, ‘खेतीपाती नगरी हातमुख जोर्न सकिदैन, खेतीको काम गर्नु कि नानीको हेरचाह रु समस्यामा पर्न थालेपछि मन कठोर पारेर खोरमा राखेका हौँ ।’

छोराको उपचारका लागि सकेसम्म खर्च गरे पनि स्वास्थ्यमा केही सुधार नआएको उनको भनाइ छ । ‘उपचारका लागि डाक्टरदेखि धामी झाँक्रीसम्म लगायौँ तर केही सुधार देखिएन । त्यसैले खोरमा थुन्न बाध्य भयौँ,’ बालककी आमा चम्पाले भनिन् ।
बिएन्डसीको तर्फबाट उद्दार गर्न पुगेको चिकित्सक र व्यवस्थापन टोली घरमा पुग्दा बालक खोरमै थिए । खोरमै पुगेका हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बालकको उपचार गरिदिने जिम्मा लिएका छन् ।
बुवा गुप्तबहादुर छोराको उपचारका लागि सँगै हस्पिटल गएका छन् ।
स्वास्थ्यसँगै शिक्षा क्षेत्रमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै यसअघि पनि उपचार अभावमा साङ्लामा बाँधिएका व्यक्तिलगायत धेरै विपन्नको बिएन्डसी हस्पिटलले निःशुल्क स्वास्थ्योपचार गरिसकेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

Leave a Reply