आशंका मेटिए, अन्तरजातीय विहे गरेका चन्द्रे कामी सकुशल भेटिए

काठमाडौं । अन्तरजातीय विहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरस्थित नात्ता गाउँका चन्द्रे कामी गत साता एकाएक वेपत्ता बने । केटी पक्षकाले उनलाई कुटपिट गर्दै अपहरण गरेर लगेको आरोप परिवारले लगायो । तर, कामीलाई बुधबार प्रहरीले सामान्य अवस्थामा फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले आज बिहान खार्पुनाथ गाउँपालिका–५ याङ्चुबजारमा चन्द्रेलाई भेटेको हो । उनको खोजी गर्न हुम्लाका डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३० जना प्रहरी गाउँमा पुगेका थिए । बाटोमा एक्लै लुरुलुरु हिँडिरहेको अवस्थामा प्रहरीले उनलाई भेट्टाएका हुन् ।

कामीलाई जिल्ला प्रहरी कार्यालय सिमकोटमा राखिएको छ । घटनाको थप अनुसन्धानका लागि सोधपुछ गरेपछि मात्रै उनलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार चन्द्रेमा कुनै शारीरिक वा मानसिक समस्या देखिएको छैन ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक (इन्सपेक्टर) दानसिंह भण्डारी भन्छन्, ‘जसरी सञ्चारमाध्ययममा हातखुट्टा भाँचेर लखेटेको भन्ने आएको छ, त्यो हल्ला मात्र रहेछ । चन्द्रले आफुलाई सामान्य कुटपिट गरेर सय मिटर पर लगेर छाडिएको बताएका छन् ।’

चन्द्रेले आफू एक सातासम्म जंगलमा एक्लै बसेको दावी गरेका छन्, तर प्रहरीले विश्वास गरेको छेन ।

भण्डारीले भने, ‘केटाले सात दिनसम्म एक्लै जंगलमा स्याउ खाएर बसेको भनिरहेका छन् । तर, शारीरिक रुपमा हेर्दा अवस्था उनले भनेजस्तो छैन । उनी सामान्य देखिन्छन् ।’

बिहीबार केटी पक्षको मान्छे पनि बोलाएर छलफल गर्न लागिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) हेरम्भ शर्मा आफै केटा र केटीको घरमा पुगेर खोजी कार्य अघि बढाएका थिए ।

केटा सम्पर्कमा आएपछि केटी र केटीको बाबुलाई लिएर जिल्ला सदरमुकाम आइरहेको डीएसपी शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘बल्ल टेलिफोन लाग्ने ठाउँमा आइपुगिएको छ । भोलि मात्र जिल्ला सदरमुकाम पुगिन्छ होला । भोलि पुगेर छलफल गछौ र खास कुरा के रहेछ अनुसन्धान गरेर सार्वजनिक गर्छौ ।’

स्थानीयका अनुसार तीन वर्षअघि मुगुको एउटा होटलमा काम गरिरहेका बेला चन्द्रेको भेट सुन्तली भनिने रमिला मल्लसँग भएको थियो । त्यसपछि उनीहरू प्रेम सम्बन्धमा थिए । हुम्लाका १८ वर्षका चन्द्रे र मुगुकी १७ वर्षीया रमिलाले मंसिर ५ मा भागी विवाह गरेका थिए ।

विवाहलाई केटीको माइती पक्षले नस्विकार्ने सम्भावना देखेर चन्द्रे र रमिला घरतिर नगएर छिमेकी गाउँमा बसे । उनीहरू मंसिर २४ मा मात्रै जैर गाउँस्थित घर गए । मंसिर २९ को मध्यरात चन्द्रे वेपत्ता भए । घरमै आएको एक समूहले कुटपिट गर्दै उनलाई लगेको परिवारले दावी गरेका थिए । त्यसयता उनको अवस्था अज्ञात थियो । केटी पक्षका मानिस आएर सुन्तलीलाई फिर्ता लगेको र चन्द्रेलाई पनि अपहरण गरेको परिवारको आरोप थियो ।

चन्द्रेले एक महिनाअघि केटी भगाएर ल्याएको र विवाह दर्ता गरिदिन भन्दै सर्केगाड गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढालाई फोनमा आग्रह गरेका थिए । वडा अध्यक्ष बुढाले भने २० वर्षमुनिको विवाह दर्ता नहुने जवाफ दिएका थिए ।

बुढाले नेपाल प्रेससँग भने, ‘मंसिरको पहिलो साता हो क्यारे । मलाई फोन गरेर अंकल मैले विवाह गरेँ मल्ल थरकी केटीसँग भन्यो । विवाह दर्ता गरिदिनुपर्यो भनेको थियो । उसको उमेर नपुगेको मलाई जानकारी थियो । अनि मैले विवाह गर्नका लागि त केटाकेटीको उमेर २० वर्ष चाहिन्छ भनेर भनेँ । दुवै जना जो जहाँ छौ त्यतै बस भनेर सुझाव दिएँ । अहिले मायाप्रेम गरिराख, २० वर्ष पुगेपछि विवाह गर्नु भनेर भनेँ । त्यसपछि मलाई थाहा भएन । मैले बुझे अनुसार वडामा पनि विवाह दर्ताको लागि आएका छैनन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *