‘प्रचण्ड-ज्ञानेन्द्र ५ बुँदे सम्झौताको आधार हामीले प्रदान गरेका छौं, पुस्ट्याईँ पत्रकारले गरिदिनुहोस्’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी अध्यक्षमाथि लगाएका आरोपमा आधार आफूहरुले दिएको भन्दै त्यसको पुष्टि गरिदिन पत्रकारहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार पार्टीको दोस्रो केन्द्रीय कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा पोखरेलले त्यसका लागि आफ्नो स्रोत परिचालन गर्न पत्रकारहरुलाई आग्रह गरे।

‘यो विषय त म के ठान्छु भने तपाइहरुजत्तिको अनुसन्धान गर्ने, स्रोतमा पहुँच राख्ने साथीहरुले बाहिर ल्याइदिनुभयो भने हामीलाई सजिलो हुन्छ,’ पोखरेलले भने, ‘किनकि राजनीतिक दलभित्र एकले अर्कालाई भनिरहने भन्दा आधार हामीले प्रदान गरेका छौ, पुस्ट्याई गर्दिने कुरा तपाइँहरुको पनि हो भन्ने लाग्छ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले २९ मंसिरमा आयोजित एक कार्यक्रममा १८ मंसिर २०६० मा ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भएको दावी गरेका थिए । सहमितमा के–के थिए त्यो भने प्रचण्ड र ज्ञानेन्द्रले सार्वजनिक गनुपर्ने ओलीको भनाइ थियो ।

ओलीको त्यस्तो आरोपविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसको कडा शब्दमा भत्र्सना गर्दै पुष्टि गर्न चुनौती दिएका थिए ।

पोखरेलले ५ बुँदेमा के थियो भन्नेबारे ठोस जवाफ दिएनन् । उनले माघ १९ को घटना पछाडि माओवादीका तर्फबाट आधिकारिक रुपमा सार्वजनिक गरिएको वक्तव्यले नै त्यो संकेत गर्ने बताए ।

‘हामी पुराना कुरा बिर्सन्छौ,’ पोखरेलले भने, ‘माघ १९ को घटना पछाडि माओवादीका तर्फबाट आधिकारिक रुपमा सार्वजनिक गरिएको वक्तव्यले नै त्यो कुरालाई संकेत गरेको छ, त्यो हामीले बताइरहनुपर्ने विषय होइन ।’

बाबुराम र प्रचण्डका बीचमा भएको अन्तरकलहमा पनि त्यो विषय सार्वजनिक भएको बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *