गभर्नर अधिकारीको सम्पत्ति विवरण : १० ठाउँमा जग्गा, सुनचाँदी कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । गत चैत २४ गते गभर्नर भएका अधिकारीको सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकको वेवसाइटमा राखिएको छ ।

उनले आफ्नो सम्पत्ति विवरणमा विभिन्न १० स्थानमा जग्गा रहेको देखाएका छन् । जसमध्ये ललितपुरको साविकको सैंवु गा.वि.समा १४ रोपनी र मकवानपुरमा २ कट्ठा जग्गा आफ्नो नाममा रहेको देखाएका छन् । बाँकी जग्गा उनकी श्रीमती सरिता अधिकारीको नाममा रहेको रहेको छ ।

उनले ललितपुरको जग्गा विराठनगरमा रहेको घरजग्गा विक्री, सापटी तथा वचतको प्रयोग गरी खरिद गरेको बताएपनि खरिद मूल्य भने खुलाएका छैनन् ।

उनी बस्दै आएको ललितपुरको घर उनकी श्रीमती सरिताको नाममा रहेको तथा २०५९ सालमा सञ्चयकोष, बैंक ऋण र वचतको प्रयोग गरी निर्माण गरिएको अधिकारीको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

घर भएको जग्गाको क्षेत्रफल २२ वर्गफिट रहेको छ । झापाको सुरुङ्गामा श्रीमती सरिताको नामा तीन ठाउँमा जग्गा रहेको र उक्त जमिन वकस पास गरेको बताइएको छ ।

यसैगरी गभर्नर अधिकारीसँग करिब २७ तोला सुनका गरगहना रहेको छन् । ४ लाख ५५ हजार खरिद मूल्य रहेको उक्त सुन पैतृक, विवाह र खरिद मार्फत प्राप्त भएको विवरणमा उल्लेख छ । यसैगरी उनीसँग ५० चाँदी र १८ हजार रुपैयाँ नगद रहेको देखाइएको छ ।

यसैगरी अधिकारीसँग विभिन्न बैंक सहकारीमा अधिकारी र सरिता र उनका छोरा सौगातको नाममा १ लाख ६३ हजार ७६३ रुपैयाँ नगद मौज्दात रहेको छ ।

अधिकारीसँग २ हजार २०२ अमेरिकी डलर बराबरको विदेशी मुद्रा र नागरिक लगानीकोषको अवकास कोषमा अधिकारीको नाममा १२ लाख २४ हजार ६०० रहेको देखाइएको छ ।

गभर्नर अधिकारी, श्रीमती सरिता र उनका सन्तानका नाममा विभिन्न कम्पनी तथा बैंक वित्तीय संस्था ५६ हजार २१३ कित्ता सेयर र नविल व्यालेन्स फण्ड २ को १ लाख ८० हजार कित्ता सेयर रहेको सम्पती विवरणमा उल्लेख छ ।

Comments

One response to “गभर्नर अधिकारीको सम्पत्ति विवरण : १० ठाउँमा जग्गा, सुनचाँदी कति ?”

  1. Rabi Avatar
    Rabi

    यो सेयर लगानी केही सिमित पहुचवाला काठमाडौमा रहनेहरुले मात्र गर्ने भएको कारण यसको पहुच सर्वसाधारण जन्ताले पनि पाउनु पर्छ भन्ने मेरो ठूलो जिज्ञासा हो।सर्वसाधारण मान्छेलाई त सेयर भनेको के हो भन्नेसमेत थाहा छैन।केवल केही सिमित पहुँच वालाहरुले बन्द कोठा भित्र बसेर सेयर चलाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *