परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन दिनेको सर्टलिस्ट जारी, कोको अटाए ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन दिएकामध्ये पाँच जनाको नाम सर्ट लिस्ट गरिएको छ । अध्यक्षका लागि आवेदन दिएका १५ जनाबाट सर्टलिस्ट गरिएको लोकसेवा आयोगले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

सर्ट लिस्टमा पर्नेमा हल्दिवारी गाउँपालिका-१ झापाका प्रा.डा. घनश्याम भट्टराई, बुढानीलकण्ठ नगरपालिका-९ काठमाडौंका दुर्गाप्रसाद पाण्डे, काठमाडौं महानगरपालिका ३० काठमाडौका प्रा.डा. महानन्द चालिसे रहेका छन् । यस्तै ललितपुर महानगरपालिका- ३ लतिलपुरका डा. महाश्रम शर्मा र किर्तिपुर नगरपालिका ५, काठमाडौंका प्रा.डा. शोभाखर कंडेल सर्टलिस्टमा अटाएका छन् ।

अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७८ बमोजिम उम्मेदवारको कार्यविधिका आधारमा मूल्यांकन गरी वर्णानुक्रमअनुसार सूची सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

सूचीमा सूचीकृत भएका उम्मेदवारको अवधारणापत्र र कार्ययोजना प्रस्तुतिकरण पुस १ गतेलाई राखिएको छ । यस्तै, उनीहरुको अन्तरवार्ता पुष २ गते आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा हुने जनाइएको छ ।

अध्यक्षको नाम सिफारिस गर्नका लागि लोकसेवा आयोगको अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठित समितिले मंसिर ९ गतेसम्मको समय दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाका प्रमुख डा. रामचन्द्र पाण्डे, शिक्षा मन्त्रालयका पूर्व सहसचिव लक्ष्मीराम पौडेल, मकवानपुरका वीरवंश बैठा, पर्वतका सुदर्शन पौडेल, ललितपुरका कृष्णप्रसाद आचार्य, अर्घाखाँचीका डा. बाबुराम खनाल, प्यूठानका जुद्धबहादुर पुन, रौतहटका डा. घनश्याम ठाकुरले पनि आवेदन दिएका थिए । यस्तै काठमाडौंका दयामान कर्माचार्य र हरेराम शर्मा फुयालले पनि अध्यक्षका लागि आवेदन दिएका थिए ।

बोर्डको अध्यक्ष हुन मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको, दरखास्त दिँदाका बखत कुनै राजनीतिक दलको सदस्य नभएको, शिक्षा तथा परीक्षा सम्बन्धि क्षेत्रमा कम्तिमा १२ वर्षको अनुभव हासिल गरेको योग्यता ऐनमा निर्धारण गरिएको छ । उक्त योग्यतालाई छनौट समितिले थप स्पष्ट पार्दै कार्यविधि संशोधन गरेको थियो ।

बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलको कार्यकाल गत असोज २४ गते सकिएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले गत कात्तिक १० गते सिफारिस समित गठन गरेका थिए । समिति गठन भएको १५ दिन पछि दरखास्त आह्वान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *