काठमाडौं । मनोरन्जन क्षेत्र (रेष्टुरेन्ट, डान्सबार, क्लब) मा काम गर्ने श्रमिक महिलाले आफूमाथि हुने हिंसाविरुद्ध के गर्ने ? महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा सो क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुले एउटा कुरा सिकेका छन्– त्यो हो आत्मरक्षाका लागि प्रतिकार ।
शक्ति समूहको आयोजनामा दुई दिनसम्म सन्चालित आत्मरक्षा तालिममा सहभागी किशोरी तथा युवतीहरुले आत्मरक्षाका लागि तालिम र हौसला मिलेको बताएका छन् ।
‘म मनोरन्जनको क्षेत्रमा कार्य गर्ने एक श्रमिक महिला हुँ । म घर फर्कने क्रममा जहिले ढिलाहुन्छ र मेरो बस्ने स्थान अलि गल्लीमा भएको कारण राति गाडीले म बस्ने स्थान सम्म छोड्न सक्दैन त्यसैले म सदैब डर र त्रासमा कामबाट फर्कने गर्थे तर यस तालिमले मलाई हैसला र तरिका दिएको छ कि मलाई कुनै खालको समस्या पर्न गएमा म कसरी सुरक्षित हुने भनेर’, कार्यक्रमकी एक सहभागीले बताइन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शक्ति समुहले मनोरन्जनका क्षेत्रमा कार्यरत श्रमिक महिला तथा मानववेचविखन प्रभावितहरुको लागि २ दिने आत्मरक्षा तालिम संचालन गरेको थियो ।
लैंगिक हिंसाले मानव बेचबिखन निम्त्याउँन सक्ने भएकाले यस्ता खालका तालिमले समाजमा हुनसक्ने विभिन्न समस्यालाई न्यूनिकरणमा मद्दत गर्ने मानव बेचबिखन अनुसन्धान ब्यूरोकी डिएसपी अन्जना श्रेष्ठले बताइन् । यस्ता तालिमका लागि व्युरोले पनि सहयोग गर्ने उनको भनाइ थियो ।
शक्ति समुहले लैंगिक हिंसा विरुद्धको सबालमा सदैब आवाज उठाउँदै आएको र मानव बेचविखन न्यूनिकरणका लागि पहिला लैंगिक हिंसालाई निर्मूल पार्न सघाउनका लागि तालिम आयोजना गरिएको शक्ति समुहकी संस्थापक तथा अध्यक्ष चरिमाया तामाङले बताइन् ।
तालिममा मनोरन्जन क्षेत्रमा कार्यरत ५० भन्दा बढि श्रमिक महिला सहभागी थिए । उनीहरुलाई सेल्फ डिफेन्स संघबाट सन्जु महर्जनले प्रमुख प्रशिक्षकको रुपमा तालिम दिएका थिए ।

Leave a Reply