पदबहाली गर्दै ओलीले भने- एमालेले निकालेका व्यक्ति संसदमा स्वीकार्दैनौं (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गरेका छन् । शुक्रबार दोस्रोपटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले संसद चल्न नदिने बताए ।

‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर कसरी संसद चल्न सक्छ ?,’ ओलीले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं ।’ सरकारले २८ गते संघीय संसदका बैठक आह्वान गरेको छ।

एकीकृत समाजवादीका सांसदहरुलाई अवैध भन्दै एमालेले यसअघि लामो समय संसद अवरोध गरेको थियो।

ओलीले अहिलेको गठबन्धनबाट देश र सरकार दुवै नचलिरहेको समेत आरोप लगाए। उनले भने, ‘गठबन्धनको सरकारबाट देश चलिरहेको छैन् । सरकार चलिरहेको छैन् । यस्तोलाई चलेको भन्ने हो भने त नचलेको कस्तोलाई भन्ने रु यस्तो अर्कमन्यता लम्ब्याउनु हुँदैन भनेर हामीले चाँडै आमचुनावमा जानुपर्छ भनेर भनेका छौं ।’

सर्वोच्चमा अहिले व्यवधान सिर्जना गरिएको भन्दै ओलीले पाँच दलीय गठबन्धनका कारण विकृति आएको आरोप लगाए। ‘अदालतको हुर्मत लिने काम भइरहेको छ,’ उनले भने, ‘गलत फैसला गराएर हुर्मत लिने काम भएको छ। त्यो आफैं उहाहरु भन्नुहुन्छ । समाधानका लागि उहाँहरु गलत प्रेस्कृपिस्न दिइरहनु भएको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *