कर्णालीबाट एमाले पदाधिकारीमा यामलाललाई अघि सारिँदै, अन्य को-को दाबेदार ?

सुर्खेत । नेकपा एमालेको आसन्न महाधिवेशनमा नेकपा एमाले कर्णालीले पदाधिकारीमा दाबी गर्ने भएको छ । हाल ११ जना केन्द्रीय सदस्य रहेको एमाले कर्णालीमा पदाधिकारीमा एक्ला दाबेदारको रूपमा सहसंयोजक यामलाल कंडेललाई अघि सार्ने तयारी भएको एक केन्द्रीय सदस्ले बताए ।

‘उहाँ सबैभन्दा सिनियर नेता पनि हुनहुन्छ । एमालेले हालसम्म पदाधिकारी कर्णालीमा पाएको छैन । कांग्रेसले महामन्त्री, समाजवादीले उपमहासचिव पाइसक्दा पनि एमालेले पदाधिकारी पाउनसकेको छैन । यसपाली कंडेल पदाधिकारीका एक्ला दाबेदार हुन ।’ एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी भन्छन्, ‘विगतामा यो प्रदेशलाई अन्य प्रदेशका नेताहरुले नेतृत्व गर्दै आइरहेका छन् । यो महाधिवेशनले कर्णालीलाई खुशी दिनेछ ।’

कर्णालीबाट हाल एमाले केन्द्रीय समितिमा यामलाल कंडेल, गुलावजंग शाह, गोरख वोगटी, धर्मराज रेग्मी, विष्णु रिजाल, राजबहादुर बुढा, लक्ष्मी पोखरेल, भैरवसुन्दर श्रेष्ठ, निरज आचार्य, गोविन्दविक्रम शाह, मोहन वानियाँ रहेका छन् । एमालेको विधानअनुसार कर्णालीको भूगोलबाट चार खुला, दुई खुला महिला सदस्य, कम्तीमा एक पिछडिएको क्षेत्र गरी सात जनामात्रै निर्वाचित हुने छन् ।

‘कोही साथीहरू भुगोलबाट जालान् । कोही खुला केन्द्रीय सदस्य लड्लान ’, एमाले नेता विष्णु रिजाल भन्छन्, ‘सबै साथीहरू मिलेरै जान्छौं । त्यस्तो गाह्रो नपर्ला ।’ अहिलेका सबै केन्द्रीय सदस्यले पुन: दाबी गरिरहेका छन् । २२७ प्रतिनिधि छानेको एमाले कर्णालीमा पद मिलानमा ठूलो चुनौती देखिएको छ ।

उता महिला कोटामा पनि केन्द्रीय सदस्यका आकांक्षी धेरै छन् । तिर्था गौतम बलियो दाबेदार हुन भने प्रदेश सांसददेखि नगर/पालिका अध्यक्ष, उपाध्यक्षसमेत केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन् । तर, हालसम्म ११ जनाबाहेक अरुले केन्द्रीय सदस्यका लागि उम्मेदवारी भने घोषणा गरेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *