भूमि आयोगले माघदेखि धनीपुर्जा दिने, राजनीतिक पूर्वाग्रह नराख्ने दावी

चितवन । राष्ट्रिय भूमि आयोगले माघदेखि लालपुर्जा वितरण गर्ने तयारी गरेको छ । आयोगका अध्यक्ष केशव निरौलाले भरतपुरमा कुराकानी गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई माघदेखि लालपुर्जा दिने गरी काम सुरु गरेको बताए ।

‘थोरै संख्यामा पुर्जा बाँडेर मिडियामा प्रस्तुत हुन चाहेका छैनौं, उनले भने, ‘ठूलो संख्यामा पुर्जा बाँड्ने योजनामा छौं, गुणस्तरीय काम गर्न लागेका छौँ।’

उनले प्रोपोगन्डा गरेर थोरै कामलाई आयोगले चर्चामा ल्याउन नचाहेको बताए । ‘सातै प्रदेशबाट सुझाव संकलन गरेर कार्ययोजना बनाउने छौँ’, उनले भने, ‘सबै दल, नागरिक समाजको प्रतिनिधित्व बढाएर वास्तविक सुकुम्बासीको पहिचान तथा वर्गीकरण गरिनेछ ।’

विघटित भूमिसम्बन्धी समस्या समाधान आयोगले गरेका कामलाई स्वीकारेर आवश्यक छानबिन गरी अगाडि बढ्ने उनले बताए । ‘हिजोका कामलाई कुनै राजनीतिक दल वा कार्यकर्ताले गरेको बुझ्दैनौं’, उनले भने, ‘ती काम राज्यकै स्रोत साधन खर्चेर भएका हुन्, त्यसैलाई आधार मान्छौं ।’

अदालती प्रक्रियाले ढिलो भए पनि अब कामलाई गति दिने उनले दावी गरे । उनले वास्तविक तथ्यांक नभएकाले स्थानीय तहहरुलाई सक्रिय बनाएर हकदावी लाग्नेहरुलाई पुर्जा दिइने बताए ।

उनका अनुसार करिब १५ लाख सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा बाँडिने लक्ष्य छ । यसपालिको आयोग बलियो भएकाले लालपुर्जा दिने काम पूरा हुने बताए ।

आयोगका उपसचिव मणि रेग्मीले ३ वर्षभित्र लालपुर्जा वितरणको काम सकिने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *