राष्ट्रिय योग दिवस आज– ‘गरौं योग डटेर, कोरोना जान्छ हटेर’

काठमाडौं । आज पाँचाैं राष्ट्रिय योग दिवस । सरकारले योगमा नागरिकलाई प्रोत्साहित र अभ्यस्त गर्न यस वर्षका लागि ‘गरौं योग डटेर कोरोना जान्छ हटेर’ भन्ने नारासहित सप्ताहव्यापी रुपमा मनाउने भएको छ ।

राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हिमालय क्षेत्रमा प्राचीन योगी ऋषि महर्षीले दीर्घ तपः साधनाको माध्यमबाट प्राप्त योग बिद्या अहिले पनि उत्तिकै नवीन, सान्दर्भिक र जीवन जगतका लागि उर्जाप्रदायक रहेको बताएका छन् ।

‘योग ध्यान र प्रणायामलाई हाम्रो जीवनकला, जीवनशैली र जीवन पद्धति बनाउन सक्यौं भने कोभिड–१९ लगायत धेरै प्रकारका महामारी सामना गर्न सहज बनाउँछ,’ प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्यमा भनेका छन्, ‘जनताको जीवनको सुख ल्याउन हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा तय गरेका छौं । शारीरिक र मानसिक रुपले स्वास्थ्य र निरोगी नागरिक यसको आधारभूमि हो । त्यसका लागि योग र औषधिजन्य वनस्पतिको प्रयोगलाई हरेक नागरिकको दैनिकीमा जोड्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले योग अभ्यासमा सही ढंगले लाग्न र यस सम्बन्धी खोज, अनुशन्धान गरी तथ्यपरक कुराहरु अगाडि ल्याउन सबैलाई अपीलसमेत गरेका छन् ।
सरकारले २०७२ सालदेखि राष्ट्रिय योग दिवस मनाउन थालेको हो । अन्तर्राष्ट्रिय रुपमा भने जुन महिनाको २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको छ । सन् २०१४ मा संयुक्त राष्ट्रसंघ महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव गरेका थिए । त्यस प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *