दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको लगानी आवश्यक : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षा क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग शिक्षा मन्त्रालयमा भएको भेटमा मन्त्री पौडेलले नेपालमा शिक्षित बेरोजगारको समस्या रहेको भन्दै त्यसको अन्त्यका लागि दक्ष जनशक्ति उत्पादनमा लगानी अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।

मन्त्री पौडेलले भने ‘विश्वविद्यालयबाट उत्पादन भएका शिक्षित जनशक्तिमा दक्षताको अभाव छ, शिक्षित युवाहरू रोजगारी खोजेर भौँतारिएका छन् । दक्षता अभावका कारण कायम बेरोजगारी अन्त्य गर्न निजी क्षेत्रले काम गर्नुपर्छ ।’

उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटीईभिटी) का कार्यक्रमलाई श्रम, रोजगारी र उत्पादनसँग जोड्ने गरी अघि बढाउन लागिएको पनि जानकारी दिए ।

भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने भन्दै त्यसमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने उल्लेख गरे ।

अग्रवालले परिसंघले मेक इन नेपाल- स्वदेशी अभियान सुरू गरेको र नेपालमा वार्षिक १ लाख ५० हजार रोजगारी सिर्जना गर्नु यसको मुख्य उद्देश्य रहेको पनि बताए ।

छलफलका क्रममा परिसंघअन्तर्गको एजुकेसन काउन्सिलका सभापति द्विराज शर्माले मन्त्री पौडेलसमक्ष शिक्षा क्षेत्रसँग सम्बन्धित २४ बुँदे सुझाव पेस गरे । परिसंघले प्रस्तुत गरेको सुझावमा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षालाई बजारको माग अनुरूप जोड्नुपर्ने तथा विश्वका उत्कृष्ट प्राविधिक तथा व्यावसायिक संस्थाहरूसँगको सहकार्यमा केही वर्ष नमूना कार्यक्रमहरू सञ्चालन गर्ने गराउनेतर्फ जोड दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *