लुम्बिनीका मुख्यमन्त्रीको गाडी दुरुपयोगः निजी नम्बर प्लेट राखेर आफन्तले चलाउँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसी (सोनाम) ले चढ्ने झण्डावाल सरकारी गाडी दुरुपयोग भएको छ । गाडीको झण्डा झिकेर निजी नम्बर प्लेट राखी मुख्यमन्त्रीका आफन्तले चढिरहेको भेटिएको हो ।

सरकारले मुख्यमन्त्रीका लागि उपलब्ध गराएको लु. १ झ ३४० नम्बरको महिन्द्रा एक्स यु भि ५०० मोडेलको गाडीको झण्डा हटाएर लु. १ च ९६५६ नम्बरको प्राइभेट नम्बर प्लेट राखिएको छ । गाडीले दसैँको समयमा दाङमा मुख्यमन्त्रीका आफन्त ओसारपसार गरिरहेको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार उक्त गाडी मुख्यमन्त्रीका आफन्त राजेन्द्र वलीले प्रयोग गरिरहेका छन् । यो गाडी अघिल्ला मुख्यमन्त्री शंकर पोखरेल चढ्ने गर्दथे । गाडीमा अनधिकृत तवरले निजी नम्बर प्लेट राखेर दुरुपयोग भएको माओवादी नेताहरू नै बताउँछन् ।

‘मन्त्रीले झण्डा राखेर चढ्ने गाडीमा प्राइभेट नम्बर राख्नु त पदको दुरुपयोग नै भयो,’ माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले नाम नछाप्न आग्रह गर्दै भने, ‘सोनामजीबाट यस्तो अपेक्षा थिएन ।’

आजै बिहान आफूले सो गाडी घोराहीमा निजी नम्बरप्लेट लगाइएको अवस्थामा देखेको उनले बताए ।

मुख्यमन्त्री भन्छन्- मैले नै गरेको हो

मुख्यमन्त्री केसीले आफ्नो गाडीमा प्राइभेट नम्बर राखेको स्वीकारेका छन् । आफैंले गाडीमा प्राइभेट नम्बर प्लेट राख्न लगाएर दाङ पठाएको उनले बताए ।

‘मैले मेरा सल्लाहकारलाई छोड्न गाडी प्राइभेट नम्बर राखेर पठाएको छु,’ उनले नेपाल प्रेसलाई भने, ‘मुख्यमन्त्रीको गाडीमा प्राइभेट नम्बर राख्दा तपाईंलाई केको सरोकार ?’

मुख्यमन्त्री केसीका प्रेस सल्लाहकार मानसिङ विश्वकर्माले भने सार्वजनिक बिदाको समय भएकाले मुख्यमन्त्रीको गाडीमा प्राइभेट नम्बर राखेर प्रयोग गरिएको बताए ।

‘बिदाको समयमा चलाउन सजिलो होस् भनेर प्राइभेट नम्बर राखेको हो,’ उनले भने, ‘उनले भने यो विषयलाई त्यति ठूलो नमानौँ ।’

Comments

One response to “लुम्बिनीका मुख्यमन्त्रीको गाडी दुरुपयोगः निजी नम्बर प्लेट राखेर आफन्तले चलाउँदै”

  1. रमेश ठाकुर Avatar
    रमेश ठाकुर

    सलाम छ यो समाचार छाप्ने पत्रकार ज्यु लाइ नेपाल का लोकतान्त्रिक नेता का नैतिकता लाइ नन्ङो गर्देको मा
    जबो गाडी को बिल्बुक नहुदा एक हजार जरिवाना लाग्ने देस्मा गाडी को नम्बर नै बदलेर हिड्ने नेता ज्यु लाइ धन्यवाद छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *