पोखरा। नेपाल कम्यनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन मात्रै पार्टी एकता गरे जस्तो भएको टिप्पणी गरेका छन् । पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको नियत प्रधानमन्त्री हुने भन्दा बढी नभएको बताए ।
उनले निर्वाचन आयोगबाट आफूहरुकै पार्टीले बैधानिकता पाउने र अदालतले संसद पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे । ‘निर्वाचन आयोगले हामीलाई नै वैधानिकता दिन्छ,’ उनले भने, ‘अदालतले अर्को फैसला गर्ने छैन । ओली कदमको खारेजबाहेक अर्को फैसला नगर्नेमा ढुक्क छौं ।’
उनले पुस ५ इतिहासमा कालो दिनमा रुपमा दर्ज भएको समेत टिप्पणी गरे। ‘हजारौं सहिदको बलिदान खोसियो, योद्धाहरुको संघर्ष खोसियो,’ उनको भनाइ थियो।
ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका उनले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावी गरे। ‘यसअघिका संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार थियो,’ उनले भने, ‘त्यसले राजनीतिक अस्थीरता पैदा भयो । पछिल्लो संविधान बनाउँदा संसद विघटन गर्ने प्रधानमन्त्रीलाई विशेष अधिकार नदिने बनायौं । कसैको निजी बाध्यताका कारणले संविधान मिच्न पाइन्छ ?’

Leave a Reply