गोकुल बास्कोटाको निवासमा भरतमणि पुग्दा…

काठमाडौं । कमेडी च्याम्पियनमा भरतमणि पौडेलले गरेको पूर्वमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर अत्यधिक चर्चित भयो । बास्कोटा स्वयम्ले भरतमणिको क्यारिकेचर मन पराएर उनलाई फोन गरेका थिए । आज भने उनीहरुको पहिलोपटक प्रत्यक्ष भेट भएको छ ।

भरतमणिले भक्तपुरस्थित बास्कोटाको निवासमै पुगेर बास्कोटालाई भेटेका हुन् । आफैंले फोन गरेर समय मागेर भेटेको भरतमणिले बताए ।

‘उहाँको धेरै क्यारिकेचर गरेँ, त्यसैले मलाई उहाँसँग भेट्न मन लागिरहेको थियो,’ भरतमणिले भने, ‘सहजै समय दिनुभयो र घरमै पुगेर भेटेको हुँ ।’

भेटका क्रममा बास्कोटाले भरतमणिको क्यारिकेचरलाई लिएर आफ्नै शैलीमा टिप्पणी गरेका थिए ।

‘मलाई राष्ट्रियरूपमा उडाउनी ?’ बास्कोटाले भने ।

भरतमणिले जवाफ दिए, ‘जोकमा अलिअलि नउडाइ हुन्न हजुर । नत्र मान्छे हाँस्दैनन् ।’

बास्कोटाले फिस्स हाँस्दै भने, ‘केको अलिअलि हुन्थ्यो, धेरैले उडाउनुभो ।’

भरतमणिले आग्रह गरे, ‘जे होस् नेगेटिभ नलिइदिनुहोला ।’

बास्कोटाले भने, ‘नेगेटिभरुपमा लिएर गर्नु के र ?’

भरतमणिले जिज्ञासा राखे, ‘समग्रमा मेरो कमेडी हजुरलाई कस्तो लाग्छ ?’

गोकुलले जवाफ दिए, ‘झटारो त राम्रैसँग हान्नुहुन्छ नि ।’

बास्कोटाले नै आफूमाथि लागेको आरोपको प्रसंग पनि निकालेका थिए ।

‘मलाई ७० करोड खायो भन्छन्, यी घर त यति साँघुरो छ देखिहाल्नुभो,’ उनले भने ।

‘आरोप त लगाइरहेका छन्, अब के हुन्छ हजुर ?’ भरतमणिले जिज्ञासा राखे ।

‘भ्रष्टाचार गरेको भए छानविन होस् भनेर मैले सँधै भनिरहेकै छु नि,’ बास्कोटाले जवाफ दिए ।

बास्कोटाको घरमा करिब १५ मिनेट बिताएका भरतमणि कालो चिया पिएर निस्किए ।

जाने बेलामा उनले भने, ‘हामी कमेडीयनले उडाउने मसला नपाउने गरी काम गर्नुपर्‍यो है हजुर ।’

Comments

2 responses to “गोकुल बास्कोटाको निवासमा भरतमणि पुग्दा…”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    दुबै पक्षको राम्रो बार्तालाप।

  2. रबिकुमार गिरि Avatar

    यथार्थता कहि कहिले छिपाउन सकिन्न ,अरु भरतमणिकाे हसाउने पेसा स्वागतयोग्य छ।मुर्ख लाई महामुर्ख बनाउने काम जारिरहाेस।बधाई छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *