मुख्यमन्त्रीमाथि अख्तियारको अनुसन्धानले ‘गणतन्त्र धरापमा पर्ने’ भन्दै जसपाद्वारा आन्दोलन घोषणा

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारले ‘छापामार शैलीमा छापा मारेको’ भन्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलनको घोषणा गरेको छ ।

जसपा मधेस प्रदेश समितिका मुख्य सचिव शम्भू झाले विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । उनले प्रदेश २ का आठै जिल्लाका सदरमुकामहरुमा असोज १६ गते मशाल जुलुस र १७ गते बृहत विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन् ।

जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी बचाउ, बेटी पढाउ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन खोजिएको आरोप विज्ञप्तिमा लगाइएको छ । छापामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पुर्याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशयपूर्ण रहेको विज्ञप्तीमा उल्लेख छ ।

‘अमर्यादित र विद्देषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत हो’, विज्ञप्तीमा भनिएको छ, ‘यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारमा नैराश्यता र हिनताबोध हुने, राष्ट्र निर्माणका लागि गरिने लोकल्याणकारी कार्यहरुमा प्रतिकुल असर पर्नेछ ।’

बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको भन्दै अख्तियारको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो । उक्त टोलीले सम्बन्धित कागजात नियन्त्रणमा लिएर गएको छ ।

अख्तियारको टोलीले छापा मारेको केहि घण्टा नबित्दै मुख्यमन्त्री लालबाबु राउतले समेत पत्रकार सम्मेलन गरी संघीयतालाई समाप्त पार्न र प्रदेश सरकारलाई बदनाम गराउन छापा मारिएको आक्रोश पोखेका थिए ।

Comments

One response to “मुख्यमन्त्रीमाथि अख्तियारको अनुसन्धानले ‘गणतन्त्र धरापमा पर्ने’ भन्दै जसपाद्वारा आन्दोलन घोषणा”

  1. अनन्त Avatar
    अनन्त

    लुट्न नपाए गणतन्त्र धराप देख्ने कस्तो आँखा होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *