राष्ट्रिय टोलीमा ‘झुल्किएर’ छुमन्तर हुन चाहन्नः नन्दन यादव

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पहिलोपटक ‘म्यान अफ दी म्याच’ भएका नन्दन यादवले राष्ट्रिय टोलीमा आएर राम्रो प्रदर्शन गरेर टिक्ने लक्ष्य रहेको बताएका छन् । चिसो मैदानका कारण ७ ओभरमा छोट्याइएको खेलमा पोखरालाई विजयी बनाउन शानदार बलिङ गरेका नन्दन यादवले २ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएका थिए ।

एक बोल्ड र दुई क्याच आउट गरेका नन्दनले पोस्ट म्याच कन्फरेन्समा बोल्दै राष्ट्रिय टोलीबाट खेल्ने सपना रहेको बताएका थिए ।

‘पहिलो पटक म्यान अफ दी म्याच भएको छु,’ नन्दनले भने, ‘एकदमै खुसी लागिरहेको छ मलाई ।’

‘सबै खेलाडीको गोल नै एउटै हुन्छ, राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेर खेल्ने,’ नन्दन भन्छन्, ‘म राष्ट्रिय टोलीबाट खेल्न मात्रै होइन, राम्रो प्रदर्शन गर्न चाहन्छु । एकपटक आएर छुमन्तर हुन चाहन्न ।’

राष्ट्रिय टोलीसम्म नपुग्नु खराब दिन भएको बताउँदै नन्दनले भने, ‘आफूले मेहेनत गरिरहेको छु, राष्ट्रिय टोलीका ढोका ‘नक’ गरिरहेको छु, हेरौं कहिले खुल्छ ।’

पोखराको टोलीमा भएका विदेशी खेलाडीहरू रिचार्ड लेभी, केसरिक विलियम्सहरू एकदमै सहयोगी भएको नन्दनले बताए ।

‘आजको खेलमा पनि विलियम्सले धेरै सहयोग गर्नुभयो, फिल्डिङ सेटअप कसरी गर्ने र ब्याट्सम्यानलाई कसरी रिड गर्ने भन्ने पनि सिकाउनु भयो,’ नन्दनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *