
काठमाडौं । नेकपा एमालेले पार्टीको आन्तरिक जीवन सुदृढ गर्दै आगामी राजनीतिक कार्यदिशा स्पष्ट पार्ने उद्देश्यसहित ३३ पृष्ठ लामो ‘अन्तरपार्टी निर्देशन’ (सर्कुलर) मातहतका कमिटीमा पठाएको छ ।
बुधवार जारी सर्कुलरमा महाधिवेशनको सन्देश जनस्तरसम्म पुर्याउने, संगठन विस्तार, युवा परिचालन तथा नेताहरूको कार्य विभाजनसम्बन्धी विस्तृत योजना समेटिएको छ । आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘युवा केन्द्रित अभियान’ घोषणा गरेको छ ।
अभियानको केन्द्रीय संयोजनको जिम्मेवारी युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेलाई दिइएको छ भने सह–संयोजकमा समिक बडाल रहेका छन् । प्रदेशस्तरमा युवा परिचालनका लागि छुट्टै संयोजक तोकिएका छन् ।
कोशी प्रदेशमा मनोज ताम्ली, मधेसमा मोविन आलम, बागमतीमा अमित लामा, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिंह परियार र सुदूरपश्चिममा कमला बोहरालाई जिम्मेवारी दिइएको छ ।
सर्कुलरमा केन्द्रीय तथा प्रादेशिक तहको काम प्रभावकारी रूपमा संयोजन गर्ने नेताहरूको नामावली पनि सार्वजनिक गरिएको छ । साथै, आगामी निर्वाचनका लागि रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी र अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरिएको छ ।
सर्कुलरमा भनिएको छ, ‘जुनसुकै अवस्थामा निर्वाचनमा जान पार्टी पङ्क्ति तयार रहनुपर्छ र निर्वाचनलाई आन्दोलनकै रूपमा अगाडि बढाउनुपर्छ ।’
सूचना प्रविधिको प्रभाव बढ्दै गएको उल्लेख गर्दै एमालेले सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्न विशेष निर्देशन दिएको छ ।
पार्टीका नीति, चुनावी प्रतिबद्धता र उम्मेदवारहरूको प्रचारका लागि ‘डिजिटल क्याम्पियन’ लाई वडा तहसम्म विस्तार गर्ने योजना सर्कुलरमा विस्तृत रूपमा उल्लेख गरिएको छ ।
यसैगरी, राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन, संशोधित विधानको सम्पादन तथा प्रकाशन, र केन्द्रीय सल्लाहकार परिषद् गठनजस्ता महत्वपूर्ण साङ्गठनिक विषयहरूलाई पनि सर्कुलरमा समेटिएको छ ।
यस्तो सर्कुलरको पूर्णपाठः

Leave a Reply