मधेश आन्दोलनकै कारण ३१ लाख नेपालीले नागरिकता पाए: उपेन्द्र यादव

रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनकै कारण ३१ लाख नेपालीले मधेशमा नागरिकता प्राप्त गर्न सफल भएको जनाएका छन् ।

पार्टीको लुम्बिनी प्रदेश समितिले बुधवार रुपन्देहीको धकधईमा आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष यादवले आन्दोलनबाट धेरै उपलब्धि हासिल भए पनि त्यसलाई संस्थागत गर्न प्रमुख राजनीतिक दलहरूले साथ नदिएको बताएका छन् ।

ठूला दलहरूले मधेशी समुदायप्रति न्याय नगरेको आरोप लगाउँदै उनले भने, ‘जबसम्म नेकपा एमाले, नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू रहिरहन्छन्, तबसम्म मधेशका जनतालाई दमन गर्ने नीति जारी रहन्छ र देशको विकास पनि अवरुद्ध हुन्छ ।’

उनले विगतका सरकारप्रति जनतामा नैराश्यता बढेको र जेनजी आन्दोलन त्यसैको कारण भएको जनाए । उनले यसअघिको सरकारप्रति गुनासो गरे । संसदीय इतिहासमा विरलै देखिने संसदको पहिलो र दोस्रो प्रमुख पार्टी मिलेर सरकार बनेपछि जनतामा थप निराशा देखा परेको जनाए । उनले अबको निकास जनताद्वारा निर्वाचित राष्ट्रपति भए पछि मात्रै हुने जनाए ।

उनले अबको निर्वाचन निकै खर्चिलो हुने जनाए । यादवले प्रदेश संरचना बढाएर ११ पुर्‍याउनुपर्ने माग गरे । यस्तै, काँग्रेस–कम्युनिष्टले ३५ वर्ष सत्ता चलाउँदा समेत किसानले सधैँ मल अभाको समस्या भोग्नुपरेको जनाए ।

शक्ति प्रदर्शनसहित आयोजित जनसभामा विभिन्न ठाउँबाट आएका कार्यकर्ता, समर्थक र स्थानीय नागरिकहरूको सहभागिता थियो ।

पार्टीका केन्द्रीय सचिव कमरुद्दिन राईले पार्टी छाडेर गएका नेता कार्यकर्ताहरूलाई पार्टीमा फर्किएर काम गर्न आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *