पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

कञ्चनपुर । महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा पर्ने १२ पुल मर्मत तथा सुरक्षा सुदृढीकरण अगाडि बढाएको छ ।

कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडकखण्डमा रहेका ती पुलको मर्मत अघि बढाइएको हो । पुल आयोजना कार्यालयका इन्जिनियर रवि शाहका अनुसार चौधर नदी, वनगाउँ खोला, भाँसी खोला, काँगला खोला, च्यानल क्रसिङ, पथरिया नदी, स्याली नदी, वनहरा नदी, अम्खैया खोला, बालुवा खोला, गौरीगङ्गा खोला र लिक्मा खोलामाथि रहेका पुल मर्मत भइरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा ठेक्का प्रक्रियामार्फत रु एक करोड ९१ लाख ८२ हजार ४८२ को लागतमा पुलहरू मर्मत भइरहेको उहाँले जानकारी दिनुभयो । ‘पुलको अवस्था (कन्डिसन रेटिङ)का आधारमा वर्गीकरण गरी मर्मत कार्य अगाडि बढाएका छौँ,’ इन्जिनियर शाहले भने, ‘समस्या पहिचान गरी प्राथमिकताका आधारमा मर्मत भइरहेको छ ।’

मर्मत कार्यअन्तर्गत सस्पेन्सन जोइन्ट, डब्लु–बिम बेरियर, बेरियर रोड पासिङ, क्याच आइ, डेलिनेटर पोस्ट तथा रेलिङ मर्मतजस्ता प्राविधिक काम भइरहेका छन् । मङ्सिर २१ गतेदेखि शुरु भएको यो कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नियमित मर्मत र सुरक्षा सुदृढीकरणले राजमार्गमा सवारी आवागमन सुरक्षित हुनुका साथै पूर्वाधारको टिकाउपन बढ्ने विश्वास आयोजना कार्यालयको रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *