नेपाली कांग्रेसको ऐतिहासिक विरासत र वर्तमानको पदचाप

नेपाली राजनीतिको सबैभन्दा पुरानो र लोकतान्त्रिक शक्तिका रूपमा रहेको नेपाली कांग्रेस आज पुनः एकपटक इतिहासको रोचक र चुनौतीपूर्ण मोडमा उभिएको छ। २००७ सालको क्रान्तिदेखि २०७२ को संविधान निर्माण र कार्यान्वयनसम्म आइपुग्दा यो पार्टीले सात दशक लामो राजनीतिक यात्रा तय गरिसकेको छ। यस अवधिमा कांग्रेसले अनेकौँ आरोह–अवरोह, आन्तरिक द्वन्द्व, विभाजन र एकताको अनुभव गरेको छ।

वर्तमान समयमा पार्टीभित्र देखिएको वैचारिक मन्थन र नेतृत्वको कार्यशैलीमाथिको प्रश्नलाई केवल सामान्य ‘कलह’का रूपमा मात्र नहेरी, यसलाई ऐतिहासिक विरासतको निरन्तरता र बदलिँदो समयमा भविष्यको खोजीका रूपमा बुझ्न आवश्यक छ।

कांग्रेस इतिहासको पुनरावृत्ति: ‘पूरक शक्ति’ को नयाँ अवतार

इतिहासको पाना पल्टाउँदा एउटा रोचक समानता देखिन्छ। आफ्नो युवावस्थामा वर्तमान पार्टी सभापति शेरबहादुर देउवा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको कार्यशैली र एकलौटी निर्णय प्रक्रियाका विरुद्ध एक विद्रोही नेताका रूपमा उभिएका थिए। ‘पार्टीमा विधि र पद्धति हरायो, आन्तरिक लोकतन्त्र कमजोर भयो’ भन्ने देउवाको तत्कालीन एजेन्डाले कांग्रेसभित्रको नयाँ पुस्तामा ठूलो आशा जगाएको थियो। त्यस समयमा देउवाको विद्रोहले कांग्रेसलाई दुई चिरामा पुऱ्याए पनि त्यसकै जगमा ‘अन्तरपार्टी लोकतन्त्र’को मुद्दा स्थापित भएको थियो।

आज ठ्याक्कै त्यही दृश्य दोहोरिएको छ। विडम्बना र संयोग कस्तो छ भने, हिजो जो विद्रोही थिए, आज उनी नै मूल नेतृत्वमा छन्। हिजो देउवाले गिरिजाबाबुलाई सोधेका उही प्रश्नहरू (पद्धति, पारदर्शिता र पुस्तान्तरण) आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई सोधिरहेका छन्। यसलाई ‘दोस्रो देउवा–गिरिजा’ प्रवृत्तिको संज्ञा समेत दिन सकिन्छ।

यो द्वन्द्व केवल पद र सत्ता प्राप्तिका लागि मात्र नभई, बदलिँदो विश्व परिवेश र सूचना प्रविधिको युगमा पार्टीलाई भीडमा आधारित (मास बेस्ड) बाट लक्ष्यमा आधारित (मिसन बेस्ड) बनाउनका लागि गरिएको वैचारिक लडाइँ हो।

देउवाको गिरिजाबाबुसँग द्वन्द्व रहे पनि कांग्रेसको इतिहासमा बीपी कोइरालासँग भने उनको एक आदर्श ‘गुरु–चेला’ को सम्बन्ध थियो। देउवाले कतिपय पार्टी कार्यक्रममा ‘राजनीतिमा बीपीले मलाई हुर्काउनुभएको हो’ भन्ने गरेका छन्। बीपीको सैद्धान्तिक उचाइ र देउवाको साङ्गठनिक जाँगरले कांग्रेसलाई पञ्चायतकालको कठिन समयमा पनि सशक्त राखेको मानिन्छ। अहिलेको राजनीतिमा गगन थापा र विश्वप्रकाश शर्माको जोडीलाई धेरैले ‘आधुनिक बीपी–देउवा’ जोडीका रूपमा हेर्न थालेका छन्।

गगनको जोस, प्रस्ट वक्ता शैली र एजेन्डा स्थापित गर्न सक्ने अद्भुत क्षमताले उनलाई युवा पुस्ताको ढुकढुकी बनाएको छ। उनी समस्या मात्र देखाउँदैनन्, समाधानका खाका पनि प्रस्तुत गर्छन्। अर्कोतर्फ, विश्वप्रकाशको बौद्धिकता, समन्वयकारी भूमिका, शालीन राजनीतिक संस्कार र शब्दशिल्पले पार्टीभित्र सन्तुलन कायम गर्न मद्दत पुऱ्याएको छ। यी दुई नेताबीच कार्यशैलीगत भिन्नता भए तापनि उनीहरूको लक्ष्य एउटै छ- ‘कांग्रेसको पुनर्जागरण’। गगनको आक्रामक शैली र विश्वप्रकाशको संयमित शैली एकअर्काका पूरक बनेका छन्। यद्यपि, उनीहरूबीचको सम्बन्ध बीपी–देउवा जस्तो पदानुक्रममा आधारित नभई बराबरीको सहकार्यमा टिकेको छ, जुन आधुनिक लोकतन्त्रको सुन्दर पक्ष हो। आगामी १५ औँ महाधिवेशनको सङ्घारमा यो जोडीले दिने वैचारिक दिशा र उनीहरूको एकताले नै कांग्रेसको अबको भविष्य तय गर्ने निश्चित देखिन्छ।

विभाजनको घाउ र एकताको अपरिहार्यता

इतिहासले कांग्रेसलाई सिकाएको एउटा अत्यन्तै महत्त्वपूर्ण र महँगो पाठ के हो भने— कांग्रेस जब–जब फुट्छ, तब–तब लोकतन्त्र र संविधान कमजोर हुन्छ। २०५९ सालमा तत्कालीन प्रधानमन्त्री देउवाले कांग्रेस फुटाउँदा त्यसको सीधा लाभ निरङ्कुश महत्त्वाकाङ्क्षा बोकेको तत्कालीन शासनसत्ता र सशस्त्र विद्रोहमा रहेको शक्ति दुवैलाई पुगेको तथ्य छर्लङ्ग छ। फुटले पार्टीलाई मात्र होइन, देशको समग्र विकास र स्थिरतालाई पनि धक्का दिन्छ। त्यसैले, आजको नेतृत्वले विगतका ती तिता गल्तीहरूबाट सिक्न जरुरी छ। वर्तमान सभापति देउवाले अब आफूलाई सक्रिय राजनीतिबाट विस्तारै विश्राम दिँदै अभिभावकको भूमिकामा स्थापित गर्नुपर्छ। उनले नयाँ पुस्ताको ऊर्जा र दृष्टिकोणलाई पार्टीको मूलधारमा स्थान दिन कञ्जुस्याइँ गर्नु हुँदैन।

अर्कोतर्फ, गगन–विश्वप्रकाश लगायतका नयाँ पुस्ताका नेताहरूले पनि विद्रोह मात्र होइन, विशाल र समावेशी कांग्रेस बनाउनका लागि सबै गुट र पक्षलाई समेट्ने धैर्य र उदारता देखाउनु आवश्यक छ। बीपी कोइरालाले प्रतिपादन गरेको ‘प्रजातान्त्रिक समाजवाद’ कांग्रेसको मेरुदण्ड हो। तर, आजको उदारवादी अर्थतन्त्र र भूमण्डलीकरणको युगमा त्यो समाजवादको व्याख्या कस्तो हुने? के केवल गाई पाल्नु र हलो जोत्ने किसानको कुरा गर्नु मात्रै समाजवाद हो ? पक्कै होइन।

आजको कांग्रेसले स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन, र सूचना प्रविधिमा आम नागरिकको पहुँचलाई समाजवादसँग जोड्नुपर्छ। गगन र विश्वप्रकाशमाथि बीपीको त्यही समाजवादलाई २१ औँ शताब्दीको मागअनुसार पुनर्व्याख्या गर्नुपर्ने चुनौती छ। पार्टीभित्रको वर्तमान बहसलाई केवल ‘ध्रुवीकरण’ मात्र नभई ‘लोकतान्त्रिक जीवन्तता’का रूपमा लिइनुपर्छ र यसले नीतिगत सुधारको बाटो खोल्नुपर्छ।

१५ औँ महाधिवेशन: रूपान्तरणको अन्तिम अवसर

नेपाली कांग्रेस अब पुरानै ढर्राबाट चल्न सम्भव छैन। मतदाताको मनोविज्ञान बदलिएको छ, नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको छ र जनतामा सेवा प्रवाह (डेलिभरी) प्रतिको तीव्र चाहना छ। यस्तो अवस्थामा १५ औँ महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई, कांग्रेसको ‘रि–ब्रान्डिङ’ र ‘पुनर्संरचना’ गर्ने अवसर पनि हो। पार्टीलाई गुट र भागबन्डाको बन्दी बनाउनुको साटो क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिने परिपाटी बसाल्नुपर्छ।

जबसम्म क्रियाशील सदस्यता वितरण पारदर्शी हुँदैन र तल्लो तहदेखि नै निर्वाचन प्रणाली निष्पक्ष हुँदैन, तबसम्म कांग्रेस ‘मास बेस्ड’ पार्टी मात्र रहिरहनेछ। यसलाई ‘मिसन बेस्ड’ बनाउन सङ्गठनको संरचनामा आमूल परिवर्तन आवश्यक छ।

कांग्रेस एकढिक्का हुनु भनेको केवल एउटा राजनीतिक दल बलियो हुनु मात्र नभई, मुलुकको संविधान, विधिको शासन र लोकतन्त्रको सुरक्षाको ग्यारेन्टी हुनु पनि हो। कांग्रेस कमजोर हुँदा मुलुकमा अस्थिरता र अधिनायकवादी सोचहरू हावी हुने गरेका छन्। तसर्थ, कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै, हिजोका अनुभव र आजको उत्साहलाई संयोजन गरी अघि बढ्नुको विकल्प छैन।

आगामी महाधिवेशनले कांग्रेसलाई साना-साना गुटहरूको महासङ्घबाट मुक्त गरी एउटै बलियो ढिक्का बनाउने सङ्कल्प गर्न जरुरी छ । पुराना पुस्ताको ‘अनुभव’ र नयाँ पुस्ताको ‘भिजन’ बीचको फ्युजन (मिश्रण) नै आजको आवश्यकता हो।

(लेखक धिताल नेपाल प्रेस युनियन, मकवानपुरका कार्यवाहक सचिव हुन्।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *