
दाङ । राजनीति भन्नासाथ धेरैको आँखामा शक्ति, पद, सुविधा र आडम्बरको चित्र आउँछ । जनप्रतिनिधि भएपछि जीवनशैली फेरिनु, दूरी बढ्नु र विशेष व्यवहार खोजिनु सामान्यजस्तै भइसकेको छ । स्थानीय तहमा निर्वाचित नेताहरूलाई हेर्दा सरकारी गाडी, सुरक्षाकर्मी (नगर प्रहरी), सहयोगी र औपचारिकताको घेरा स्वाभाविक ठानिन्छ । तर, यही सामान्यीकरणलाई चिर्दै दाङको तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले फरक चित्र कोरिरहेकी छन् ।
उनको जीवनशैली, व्यवहार र सामाजिक सक्रियताले राजनीति केवल पदको अभ्यास होइन, सेवा र सादगीको अभ्यास पनि हुन सक्छ भन्ने सन्देश दिएको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस-माओवादी केन्द्रको विशाल गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेबाट उपमेयरमा निर्वाचित चौधरीको जित राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको थियो ।
गठबन्धनविरुद्धको यो जित केवल अंकगणितीय सफलता थिएन, यसले तुलसीपुरको मतदाताले खोजेको फरक नेतृत्वको संकेत पनि गरेको थियो । निर्वाचनपछि धेरैले अनुमान गरेका थिए, ‘अब उनको जीवनशैली पनि बदलिनेछ, औपचारिकता बढ्नेछ र उपमेयरको हैसियत झल्किनेछ ।’ तर, समय बित्दै जाँदा चौधरीले ती सबै अनुमानलाई गलत साबित गरिदिइन् ।
उनको दैनिकी उपमेयरको भन्दा पनि सामाजिक अभियन्ता र अभिभावकको जस्तो देखिन्छ । आफ्नै सन्तान नभए पनि उनले अनाथालय सञ्चालन गरेर दुई दर्जनभन्दा बढी अनाथ बालबालिकाको शिक्षा, दीक्षा र पालनपोषणको जिम्मेवारी लिएकी छन् । ती बालबालिकाका लागि उनी केवल संरक्षक होइनन्, आमा, साथी र मार्गदर्शक पनि हुन् । अनाथालयमै बसेर बालबालिकासँग समय बिताउने, उनीहरूका समस्या सुन्ने, पढाइमा सहयोग गर्ने र भविष्यप्रति चिन्तित रहने उनको स्वभावले उनलाई फरक बनाएको छ ।
उपमेयरको पदले सुविधा र सहजता दिएको भए पनि चौधरीले त्यो बाटो रोजिनन् । उनी अनाथालयमै खाना पकाउँछिन्, सरसफाइ गर्छिन् र अपवाद बाहेक जूठा भाँडा पनि आफैँ माझ्ने गर्छिन् । धेरैका लागि यो सामान्य काम हुन सक्छ । तर, जब यही काम जनप्रतिनिधिले गर्छिन्, त्यसले गहिरो सामाजिक र राजनीतिक अर्थ बोकेको हुन्छ । यही दृश्य हालै सामाजिक सञ्जाल टिकटकमार्फत बाहिर आयो, जहाँ उपमेयर चौधरी आफैँ जूठा भाँडा माझ्दै देखिइन् ।
उक्त भिडिओमा कुनै बनावटीपन छैन, कुनै औपचारिक सन्देश छैन । उनी सहज रूपमा भाँडा माझ्दै मुस्कुराउँछिन् र भन्छिन्, ‘नगरवासीहरू, आफ्नो काम आफैँ गर्नुस् । यसले मानसिक र शारीरिक रूपमा फिट बनाउँछ ।’ यही एक वाक्यले भिडिओलाई भाइरल बनायो । केही सेकेन्डको त्यो दृश्यले हजारौँ शब्दभन्दा बढी प्रभाव छोड्यो । सामाजिक सञ्जालमा भिडियो तीव्र गतिमा फैलियो र चर्चा सुरु भयो ।
यो भिडिओ भाइरल हुनुको कारण केवल उपमेयरले भाँडा माझ्नु होइन, त्यो दृश्यले समाजको स्थापित मानसिकतालाई चुनौती दिनु हो । हाम्रो समाजमा श्रमलाई अझै पनि पद र हैसियतसँग तौलिन्छ । भाँडा माझ्ने, खाना पकाउने, सरसफाइ गर्ने कामलाई तल्लो दर्जाको काम ठान्ने प्रवृत्ति व्यापक छ । अझ राजनीतिक पदमा बसेकाले यस्तो काम गर्नु असामान्य मानिन्छ । चौधरीको व्यवहारले यही मानसिकतामाथि प्रश्न उठाएको छ ।
चौधरीको सादगी कुनै क्षणिक अभिनय होइन । अनाथालयमा उनको नियमित श्रम, बालबालिकासँगको आत्मीय सम्बन्ध र साधारण जीवनशैली स्थानीयहरूका लागि परिचित विषय हो । उनी उपमेयर हुनुअघि पनि सामाजिक काममा सक्रिय थिइन् । उपमेयर भएपछि पनि त्यो निरन्तरता टुटेको छैन । उनको व्यवहारले पदले मान्छेलाई बदल्नै पर्छ भन्ने मान्यतालाई अस्वीकार गरेको छ ।
उनले दिएको ‘आफ्नो काम आफैँ गर्नुस्’ भन्ने सन्देश घरेलु कामको वकालत होइन, आत्मनिर्भरता र श्रमप्रतिको सम्मानको आह्वान हो । आजको जीवनशैलीमा मानिसहरू सुविधा खोज्दै शारीरिक श्रमबाट टाढिँदै गएका छन् । यसले स्वास्थ्यमा मात्र होइन, मानसिकतामा पनि असर पारेको छ । चौधरीले भाँडा माझ्दै दिएको सन्देशले श्रमलाई लाज होइन, गर्वको विषय बनाउनुपर्ने कुरा स्मरण गराएको छ ।
अन्ततः तुलसीपुरकी उपमेयर स्यानी चौधरीको जूठा भाँडा माझ्दै गरेको दृश्य कुनै प्रचारात्मक नाटक होइन, त्यो उनको जीवनदर्शनको प्रतिबिम्ब हो । पद, शक्ति र प्रतिष्ठाभन्दा माथि उठेर श्रम, सेवा र मानवताको अभ्यास गर्ने उनको शैली आजको राजनीतिमा दुर्लभ देखिन्छ । राजनीति केका लागि हो ? पदका लागि कि सेवाका लागि ? भन्ने प्रश्नको उत्तर भाँडा माझ्दै र मुस्कुराउँदै दिँदैछिन्, ‘आफ्नो काम आफैँ गर्नुस् ।’

Leave a Reply