गठबन्धनको अन्यौलतामा सुनसरीका एमाले- छोड्नुपर्ने क्षेत्रको टुंगो छैन, धमाधम सिफारिस

इनरुवा । चुनावी गठबन्धन निश्चित नहुँदा सुनसरीका एमाले अगुवा अन्यौलमा छन् । कांग्रेस, नेकपा वा अन्य दल ; कोसँग गठबन्धन होला निश्चित छैन ।

केन्द्रको निर्देशनबमोजिम चारै निर्वाचन क्षेत्रका समन्वय कमिटीले उम्मेदवार सिफारिस गरिसके । सिफारिसका क्रममा पनि हानाथाप त्यत्तिकै चल्यो ।

कांग्रेससँग गठबन्धन भए एमालेले क्षेत्र नं. ४ छोड्नुपर्छ । त्यहाँ दुईपटक चुनाव जितेका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् । एमाले प्रत्यासी जगदिश कुसियैत क्षेत्र नं. २ सुरक्षित गर्ने दाउमा छन् । कार्कीलाई छाड्नु नपरे क्षेत्र नं. ४ बाटै उम्मेदवार हुने मनस्थितिमा छन् कुसियैत

यो क्षेत्रबाट एमालेका १० जनाको दाबी थियो । जगदीश कुसियैतलाई सर्वसम्मत गर्न अन्य दाबेदार फिर्ता भए । त्यसमा पूर्व केन्द्रीय लेखा आयोग सदस्य डीबी शाह शंकर, प्रदेश कमिटी सदस्य कालुराम गुरुङ, प्रेस चौतारीका नेता विश्वमणि सुवेदी, क्षेत्रीय समन्वय कमिटी अध्यक्ष अजय कुसियैतसहित थिए । उनीहरूले कुसियैतको एकल सिफारिस पठाउनेमा सहमति जनाएका छन् ।

तर क्षेत्र नं. २ का नेताले कुसियैतका लागि सहजै बाटो छाड्ने अवस्था छैन । उक्त क्षेत्रबाट २०७९ मा भीम आचार्य निर्वाचित भएका थिए । यसपटक पनि आचार्यसहित रेवतीरमण भण्डारी, पर्शुराम यादव, खेमराज पोखरेल, लक्ष्मी गौतम, नन्द बस्नेतलगायतका बलिया प्रत्यासी छन् ।

भण्डारी प्रदेश सरकारका मन्त्री हुन् । यदि संघीय संसदका लागि चुनाव उठ्नुपरे प्रदेश सभाबाट राजीनामा दिने मनस्थितिमा छन् । यादव पार्टी जिल्ला कमिटी अध्यक्ष हुन् । बलिया प्रतिस्पर्धीका बीच क्षेत्र नम्बर २ बाट १८ जनाको सिफारिस भएको छ ।

आचार्यविरुद्ध पोखरा विमानस्थल निर्माणको विषयमा भ्रष्टाचार मुद्दा दायर भएको छ । यसकारण उनी यसपटक पार्टीभित्रै कमजोर छन् । क्षेत्र नं. ४ छोडेर २ मा जान चाहेका कुसियैत केन्द्रमा पकड राख्छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सबैभन्दा राम्रो सम्पर्क भएका नेता हुन् उनी । त्यसैले उनले चाहँदा उक्त क्षेत्रको टिकट त पाउँछन्, तर त्यही क्षेत्रका आकांक्षीबाट अहसयोग हुने स्थिति भए चुनाव हार्ने खतरा रहन्छ ।

क्षेत्र नं. १ का एमाले नेताहरु फेरि जसपा अध्यक्ष अशोक राईका लागि छाड्नुपर्ने सम्भावनाका कारण निश्चिन्त भएर चुनावको तयारीमा जुट्न पाएका छैनन् ।

२०७९ को निर्वाचनमा एमालेले जसपासँग गरेको गठबन्धनका कारण उक्त क्षेत्रमा सो पार्टीका नेता अशोक राईलाई समर्थन गर्दै एमालेले उम्मेदवारी दिएको थिएन । यसपटक पनि एमालेसँगै तालमेल गर्न राई पार्टी अध्यक्ष ओलीसँग संवादमा छन् । उनी राजेन्द्र महतो र रेशमलाल चौधरीसहितको गठबन्धनमा सामेल भइसकेका छन् , साझा चुनाव चिह्न जाँतो लिएका छन्

यद्यपि, क्षेत्रीय समन्वय कमिटीको बैठकले ८ जनाको नाम प्रदेशमा सिफारिस गरेको छ । सिफारिसमा नवनिर्वाचित एमालेकी केन्द्रीय सदस्य तथा धरान उपमहानगरकी पूर्वउपमेयर मञ्जु भण्डारी बलियो दाबेदार छिन् । उनीसँगै २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईलाई दोब्बर मतले पराजित गरे जयकुमार राईसमेत सिफारिसमा परेका छन् ।

सुनसरीले फेरि भगवती चौधरीलाई नै उम्मेदवार बनाउने सम्भावना छ । यद्यपि, उम्मेदवार सिफारिसमा तैयव हुसेन पनि परेका छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार २०७९ को हारको बदला लिने तयारीमा छन् ।

एमालेको तर्फबाट उम्मेदवार हुने कुरा जिल्लाको स्तुस्थितिमा मात्रै निर्भर छैन । पार्टीको केन्द्रीय नेतृत्वमा कसको कति पहुँच छ भन्ने आधारमा धेरै कुरा निर्भर रहेका कारण पार्टी संस्थाप नै सुनसरीको उम्मेदवारीमा हाबी हुने देखिन्छ ।

यदि संस्थापनले अर्को पक्षलाई समेटेन भने सुनसरीको क्षेत्र नं. १ बाट मञ्जु भण्डारीको सम्भावना बलियो हुन्छ । उनी ११ औँ महाधिवेशनमा संस्थापनकै सूचीमा परेर केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । सिफारिस भएकामध्ये जयकुमार राई संस्थापन पक्षका होइनन् तर बलिया उम्मेदवार मानिन्छन् । यदि भण्डारीलाई एमालेले उम्मेदवार बनायो भने संस्थापन इतरबाट असहयोग हुने खतरा छ ।

११ औँ महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार भीम आचार्यलाई संस्थापनले आफ्नो सूचीमा समेटेको थिएन । उनले संस्थापनको निर्देशनविपरीत उपाध्यक्षमा उम्मेदवारी दिएको कारण अहिले उक्त पक्षले आचार्यलाई रुचाएको छैन । त्यस्तै क्षेत्र नं. १ बाट सिफारिस भएका राई पनि आचार्य पक्षकै हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *