
कैलाली । धनगढी रङ्गशालामा जारी बद्री कुन्ता मेमोरियल यु-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा सहारा युवा क्लब घोडाघोडी र गौरीगङ्गा ११ स्पोटर्स क्लब विजयी भएका छन् ।
आइतबार सम्पन्न पहिलो खेलमा सहारा युवा क्लब घोडाघोडीले हरियाली युवा क्लब जोशीपुरलाई टाइब्रेकरमा ४ – २ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
खेलको सुरु भएको दुई मिनेटमै सहारा युवा क्लबका सौगात धामीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि खेलको २५औँ मिनेटमा हरियाली युवा क्लब जोशीपुरका अरविन्द्र डगौंराले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा सहारा युवा क्लबले ४ गोल गर्दा हरियाली युवा क्लब जोशीपुरले मात्र २ गोल गर्न सक्यो ।
आजै सम्पन्न दोस्रो खेलमा गौरीगङ्गा ११ स्पोटर्स क्लबले यूथ अफ टिकापुरलाई ३ – १ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ । कैलारी गाउँपालिकाको न्यू युवा सुन्दर शक्ति क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको यूथ अफ टिकापुरले दोस्रो खेलमा सोही लयलाई कायम राख्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिताको छैटौँ खेलमा सोमबार सङ्घर्ष स्पोटर्स क्लब गोदावरी र बसर युवा क्लब चुरेकाबीच प्रतिस्पर्धा हुनेछ ।
कैलाली जिल्ला फुटबल सङ्घको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी छन्।
पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।
साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने जनाइएको छ ।

Leave a Reply