
कैलाली । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले कञ्चनपुर प्रतिनिधि सभा क्षेत्र २ ले निर्वाचनमार्फत उम्मेदवार सिफारिस गरेको छ ।
उम्मेदवारको लागि पूर्व सांसद नरबहादुर धामी, पूर्व मेयर अशोक कुमार चन्द, र राष्ट्रिय युवा सङ्घका पूर्व केन्द्रीय अध्यक्ष बचन बहादुर सिंहले दाबी गरेका थिए । केन्द्रको सर्कुलर अनुसार २ पुरुष र १ महिलाको सिफारिस गर्न यहाँ सहमति जुट्न सकेको थिएन । एक महिलाको लागि नेतृ पार्वती जोशी र पार्टी अध्यक्ष लक्ष्मी बुढाले दाबी गरेकी थिइन् ।
शनिवार झलारीमा एमाले क्षेत्र २ कमिटीको बैठकले पाटी केन्द्रले तोके अनुरूप २ पुरुष सहित १ महिला उम्मेदवार छान्न नसकेपछि आइतबार निर्वाचन गरेको थियो ।
प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि अशोक कुमार चन्दले सर्वाधिक ६१ मत पाए । नर बहादुर धामीले ५७ मत र महिला तर्फ पार्वती जोशीले ४४ पाउँदै विजयी भइन् ।
खुला तर्फ बचन बहादुर सिंहले ५० र महिला तर्फ लक्ष्मी बुढाले ४१ मत ल्याएका छन् । कुल ९५ मतदाता मध्ये ८४मत खसेका थिए ।
चन्द ०७४मा एमालेबाट बेदकोट नगरका मेयर हुन । धामी प्रतिनिधि सभाका लागि ०७४ मा भएको निर्वाचनमा निर्वाचित र ०७९मा पराजित नेता हुन् । सिंह यस पटक प्रदेश सभाको उम्मेदवार थिए तर, पराजित भए।
०७९ मा बेदकोट नगरको उपमेयरकी उम्मेदवार पार्वती जोशी नगरमा पराजित भएकी थिइन् । अहिले प्रतिनिधि सभा उम्मेदवारको लागि भएको निर्वाचनमा कञ्चनपुरकै नेतृत्व हाँकिरहेकी पार्टी जिल्ला अध्यक्ष लक्ष्मी बुढालाई पराजित गर्दै सिफारिस भइन् ।

Leave a Reply