जब नेता कन्टेन्ट क्रिएटर बन्छन्, अनि जनताले के गर्छन् ?

नेपालको राजनीति आज विशेष मोडमा छ । जहाँ नेतृत्वको मापदण्ड अनुभव, नीति र संस्थागत उत्तरदायित्वभन्दा पनि श्रव्य दृश्य, भाइरल तत्त्व र एल्गोरिदमले निर्धारण गर्न थालेको छ । यही सन्दर्भमा उठ्ने प्रश्न केवल कटाक्ष होइन, गम्भीर राजनीतिक विमर्श हो, यी नेता हुन् कि कन्टेन्ट क्रिएटर ?

कन्टेन्ट क्रिएटरको काम ध्यान खिच्नु हो, नेताको काम निर्णय लिनु हो । दुवैको भाषा, लय र जोखिम फरक हुन्छ । तर पछिल्ला वर्षमा नेपाली राजनीतिमा यी दुई भूमिका खतरनाक रूपमा मिसिन थालेका छन् । सामाजिक सञ्जालमा ताली पाउने बोली, लाइभ भिडियोमा लोकप्रिय हुने प्रतिक्रिया र ट्रेन्डिङ ह्यासट्यागमा उक्लिने आक्रोश, यी सबैले आज ‘नेतृत्व’ को छवि बनाइदिएका छन् । प्रश्न के हो भने, यस्तो छविले राज्य चलाउँछ कि केवल भीड चलाउँछ ?

आजको नेपाली राजनीति सामाजिक सञ्जालबिना अधुरो छ । टिकटक, युट्युब, फेसबुक र इन्स्टाग्राम युवा मतदातालाई जोड्ने मुख्य माध्यम बनेका छन् । जेन-जेड आन्दोलन (भदौ २३) नै सामाजिक सञ्जालबाट सुरु भएको थियो– युवाहरूले भ्रष्टाचार र नेपो बेबीहरूको लाइफस्टाइलविरुद्ध भिडियो बनाए, ह्यासट्याग चलाए र सडकमा उत्रिए । यो आन्दोलनले ओली सरकार ढाल्यो र अन्तरिम सरकार बनायो । तर, यो आन्दोलनको सफलताको पछाडि कन्टेन्ट क्रिएटरहरूको भूमिका निर्णायक थियो । युट्युब र टिकटकमा भ्रष्टाचारका भिडियोहरू लाखौँले हेरे, जसले जनमत बनायो।

यस्ता प्रवृत्तिमा नेताहरू पनि व्यापक रूपमा प्रभावित हुने गरेका छन् । बालेन साह यापर हुन्, कुनै बेला उनको गीतहरूले असमानताविरुद्ध बोल्थे । मेयर बनेपछि उनले काठमाडौंमा अवैध संरचना भत्काउने भिडियोहरू पोस्ट गरे, जसले उनलाई राष्ट्रिय रूपमा हिरो बनायो । हालै बालेन रास्वपासँग जोडिएका छन् । अब प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने कुरा आएको छ । यो ‘बालेन मुभ’ ले युवा मतदातालाई आकर्षित गरेको पनि छ । के यो नेतृत्व हो कि केवल कन्टेन्ट मार्फत आर्जित पपुलारिटी ?

बढी पारदर्शी, युवा केन्द्रित, तर जोखिमपूर्ण पनि । भविष्यमा नेता कि कन्टेन्ट क्रिएटर भन्ने कुरा पक्कै छुट्टिने छैन ।  दुवैको मिश्रण आवश्यक हुनेछ । नेपालको लोकतन्त्रले यस्ता नयाँ प्रयोगलाई स्वीकार गर्नु पर्छ, तर सतर्कतापूर्वक । नत्र यससँगै अर्को प्रश्न आउँछ– त्यस्ता नेता, जो प्रतिक्रियामुखी छन्, समाधान उन्मुख छैनन्, त्यस्तालाई जनताले बोक्ने कि, सुँघ्ने कि, चाट्ने वा फ्याँक्ने ?

गगन थापा कांग्रेसका महामन्त्री हुन्, तर उनको छवि पनि डिजिटल नेताजस्तै छ । टेलिभिजनका इन्टरभ्युहरू, फेसबुक लाइभ र युट्युब अन्तर्वार्ताले उनलाई युवा आइकन बनाएको छ । थापाका पार्टी वा अन्य कुरा बेलाबखत डिजिटल माध्यमबाट व्यापक रूपमा प्रचार प्रसार हुने गरेका गर्छन्, उनका भिडियो लाखौँले हेर्छन् । उता रवि लामिछाने पूर्व टिभी होस्ट हुन्,  उनको रास्वपाले छोटो समयमा ठूलो समर्थन पाएको छ । किनकि, उनी मिडिया स्किलका मास्टर हुन् । यी नेताले परम्परागत राजनीति (सङ्गठन निर्माण, घरदैलो) भन्दा डिजिटल कन्टेन्टमा बढी जोड दिन्छन् ।

नेता र कन्टेन्ट क्रिएटरबीचको लाइन धुमिल हुँदै गएको छ । परम्परागत नेता सङ्गठन बनाउँछन्, नीति निर्माण गर्छन् र जनतासँग प्रत्यक्ष जोडिन्छन् । तर, आजका ‘डिजिटल नेता’ भिडियो बनाएर भाइरल हुन्छन्, ट्रेन्ड सेट गर्छन् र त्यसैबाट समर्थन जुटाउँछन् । बालेनको अवैध भवन भत्काउने भिडियोहरूले उनलाई ‘एक्सन हिरो’ बनायो, तर नीतिगत सुधारमा उनको योगदान कम चर्चित छ । गगन थापाका लाइभहरूले युवालाई प्रेरित गर्छन्, तर पार्टीभित्रको कलहमा उनी सफल हुन सकेका छैनन् । रवि लामिछानेका टिभी शोहरूले भ्रष्टाचार उजागर गर्थे, तर पार्टी चलाउँदा उनी पनि परम्परागत राजनीतिमा फसेका छन् ।

यो प्रवृत्तिको सकारात्मक पक्ष यो छ कि, राजनीति युवा केन्द्रित भएको छ, पारदर्शिता बढेको छ र जनतासँग प्रत्यक्ष संवाद सम्भव भएको छ । यसका नकारात्मक पक्षको कुरा गर्दा कन्टेन्ट भाइरल हुनका लागि अतिरञ्जित हुनसक्छ, भइरहेको पनि छ । जसले गम्भीर नीतिगत बहसलाई कमजोर बनाउँछ । बालेनले केही समय अघि भारतीय फिल्म प्रतिबन्ध जस्ता कुरा गरेका थिए, यी कुरा वा कदम पपुलिस्ट विषय हुन्, तर दीर्घकालीन प्रभाव के हो ? यस्ता कन्टेन्टले छोटो समयमा समर्थन त जुटाउँछ, तर शासनमा चुनौती दिन्छ ।

कांग्रेस र एमालेजस्ता दल विविध विषयमा विवादित छन्। तर उनीहरू संस्थागत राजनीति बुझ्छन् । नीति बनाउने प्रक्रिया, संसद्मा बहस, कूटनीतिक सन्तुलन, प्रशासनिक निरन्तरता, यी सबैको बोझ उनीहरूले बोक्नुपर्थ्यो । गल्ती हुँदा ढाकछोप गर्थे, तर अन्ततः प्रक्रियाबाट भाग्न सक्दैनथे । किनकि संस्था उनीहरूभन्दा ठूलो थियो ।

आजको नयाँ राजनीतिक धार भने संस्थाभन्दा व्यक्ति केन्द्रित छ । व्यक्ति बलियो देखिन्छ, संस्था कमजोर छ । नेता बोल्छन्, तर नीति मौन हुन्छ । प्रतिक्रिया तीखो हुन्छ, तर समाधान धमिलो हुन्छ । आलोचना तुरुन्त आउँछ, तर उत्तरदायित्व पछि धकेलिन्छ । यहीँबाट कन्टेन्ट र नेतृत्वबीचको सीमारेखामा फरक देखिन थाल्छ ।

सामाजिक सञ्जालले राजनीतिलाई ‘तत्काल’ बनाएको छ । तत्काल प्रतिक्रिया, तत्काल दोषारोपण, तत्काल श्रेय । तर, राज्य सञ्चालन तत्कालले होइन, निरन्तरताले चल्छ । बजेट, कानुन, प्रशासन, कूटनीति, यी सबैले समय, संयम र सहकार्य माग्छन् । कन्टेन्ट क्रिएटरको संसारमा  ‘भ्यूज’ निर्णायक हुन्छ । तर, राजनीतिक नेताको संसारमा  ‘परिणाम’ । ‘भ्यूज’ आज बढ्छ, परिणाम भोलि देखिन्छ । यही धैर्यता आज हराइरहेको हो कि ?

नेता र कन्टेन्ट क्रिएटरबीचको लाइन धुमिल हुँदै गएको छ । परम्परागत नेता सङ्गठन बनाउँछन्, नीति निर्माण गर्छन् र जनतासँग प्रत्यक्ष जोडिन्छन् । तर, आजका ‘डिजिटल नेता’ भिडियो बनाएर भाइरल हुन्छन्, ट्रेन्ड सेट गर्छन् र त्यसैबाट समर्थन जुटाउँछन् । बालेनको अवैध भवन भत्काउने भिडियोहरूले उनलाई ‘एक्सन हिरो’ बनायो, तर नीतिगत सुधारमा उनको योगदान कम चर्चित छ ।

व्यक्तिगत उदाहरण हेर्दा पनि यही द्वन्द्व देखिन्छ । लोकप्रिय नेताहरूले साहसी बयान दिन्छन्, तर जब निर्णयको समय आउँछ- प्रक्रिया दोषी ठहरिन्छ । असफलता प्रणालीको हुन्छ, सफलता व्यक्तिको । यही असन्तुलन खतरनाक पक्ष हो । लोकतन्त्रमा नेता असफल हुन पाउँछ, तर जिम्मेवारीबाट भाग्न पाउँदैन । कन्टेन्ट राजनीतिमा भने जिम्मेवारीभन्दा लोकप्रियताको रक्षा प्राथमिक हुन्छ ।

युवा मतदाता यहाँ सबैभन्दा बढी प्रभावित छन् । पुराना दलप्रतिको आक्रोश स्वाभाविक छ- भ्रष्टाचार, ढिलासुस्ती, गुटबन्दीले उनीहरूलाई निराश बनाएको छ । तर, निराशाबाट जन्मिएको विकल्प यदि केवल शैलीमा नयाँ र संरचनामा कमजोर भयो भने त्यो विकल्प दीर्घकालीन हुँदैन । राजनीति मनोरञ्जनजस्तो लाग्न थाल्यो भने लोकतन्त्र दर्शक–लोकतन्त्रमा बदलिन्छ अनि त्यहाँ जनताले निर्णय होइन, प्रतिक्रिया मात्र दिन्छन् ।

यसको अर्थ पुराना दल निर्दोष छन् भन्ने होइन । उनीहरूलाई गहिरो सुधार चाहिन्छ-नेतृत्वको पुस्तान्तरण, नीति–कार्यान्वयनको स्पष्टता, र जबाफदेहिताको संस्कृति । तर सुधारको दबाब दिनु र प्रतिस्थापनका नाममा ‘कन्टेन्ट राजनीति’ लाई स्वीकार्नु फरक कुरा हुन् । विकल्प बन्ने हो भने नयाँ धारले नीतिगत गहिराइ, संस्थागत अनुशासन र दीर्घकालीन रोडम्याप प्रस्तुत गर्नै पर्छ ।

अन्ततः राजनीति क्यामेराका लागि होइन, नागरिकका लागि हो । भाषण ट्रेन्डका लागि होइन, समाधानका लागि हो । नेता त्यो हो, जो तालीभन्दा कठिन निर्णय रोज्छ, आलोचनाभन्दा जिम्मेवारी स्विकार्छ र लोकप्रियताभन्दा परिणामलाई प्राथमिकता दिन्छ । त्यसैले प्रश्न अझै उभिएको छ- नेता हुन् कि कन्टेन्ट क्रियटर ? यसको उत्तर भाषणमा होइन, शासनमा देखिनुपर्छ ।

नेपालको राजनीतिमा ‘नेता कि कन्टेन्ट क्रिएटर’ को बहस दीर्घकालीन हुन सक्छ । डिजिटल युगमा कन्टेन्ट आवश्यक छ, तर नेतृत्व भनेको नीति कार्यान्वयन र सङ्गठन निर्माण हो । बालेन, गगन र रविजस्ता व्यक्तिले कन्टेन्टमार्फत जनता जोडेका छन्, तर शासनमा उनीहरूको परीक्षा बाँकी छ । यदि यी ‘क्रिएटर नेता’ ले नीतिगत सुधार गरेनन् भने उनीहरू केवल पपुलिष्ट बन्नेछन् । पुराना दलले यदि डिजिटल युगलाई बुझेनन् भने इतिहास बन्नेछन् ।

यो प्रवृत्तिले नेपालको राजनीतिलाई नयाँ दिशा दिइरहेको छ- बढी पारदर्शी, युवा केन्द्रित, तर जोखिमपूर्ण पनि । भविष्यमा नेता कि कन्टेन्ट क्रिएटर भन्ने कुरा पक्कै छुट्टिने छैन ।  दुवैको मिश्रण आवश्यक हुनेछ । नेपालको लोकतन्त्रले यस्ता नयाँ प्रयोगलाई स्वीकार गर्नु पर्छ, तर सतर्कतापूर्वक । नत्र यससँगै अर्को प्रश्न आउँछ– त्यस्ता नेता, जो प्रतिक्रियामुखी छन्, समाधान उन्मुख छैनन्, त्यस्तालाई जनताले बोक्ने कि, सुँघ्ने कि, चाट्ने वा फ्याँक्ने ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *