‘रास्वपा नेतृत्वको सरकार’ले निर्वाचनको वातावरण बनाउन सकेनः एमाले नेता आचार्य

जाजरकोट । नेकपा एमालेका नेता निरज आचार्यले ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार’ले निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् । जाजरकोट जिल्ला सदरमुकाम खलङ्गामा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा नेता आचार्यले रास्वपा नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाएका हुन् ।

आचार्यले वर्तमान सरकारको कार्यशैलीका कारण देशमा निष्पक्ष र स्वतन्त्र निर्वाचन हुने आधार कमजोर बन्दै गएको बताए । ‘सरकारले सुरक्षा, राजनीतिक गतिविधि र नागरिक सहभागिताको वातावरण निर्माण गर्न सकेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा निष्पक्ष निर्वाचनप्रति गम्भीर आशंका पैदा भएको छ।’
आचार्यका अनुसार लुटिएका हतियार र फरार कैदीबन्दीको विषयमा सरकारले कुनै चासो नदेखाउँदा नागरिकमा असुरक्षा बढेको छ। ‘लुटिएका हतियार फिर्ता गर्ने र फरार कैदीबन्दी पक्राउ गर्ने काममा सरकार गम्भीर देखिँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा निर्वाचनको कुरा गर्नु आफैँमा विरोधाभास हुन्छ।’

उनले अहिले पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौँबाहिर जान नदिइएको दाबी गरे । नेताहरू नागरिकसँग प्रत्यक्ष भेटघाट गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘नागरिकसँग नेता जाने वातावरण नै छैन, सरकारले त्यो वातावरण बनाउन सकेको छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति कुलमान घसिङ मन्त्री बनेको सन्दर्भ उठाउँदै उनले राजनीतिक गतिविधि अझै संकुचित भएको बताए । ‘जनताको बीचमा जानबाट एमाले अलग हुँदैन,’ उनले भने, ‘हामी जनतामाझ जान तयार छौँ, तर सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्छ।’ आचार्यले प्रतिनिधिसभाको पुनःस्थापना, सर्वदलीय सरकार गठन र ताजा जनादेशमा जान एमाले तयार रहेको स्पष्ट पारे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *