एमाले लोकतन्त्रको पक्षमा छ, चुनावबाट भाग्दैन : विष्णु पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो पार्टी सधैँ लोकतन्त्रको पक्षमा रहेको भन्दै निर्वाचनबाट नभाग्ने बताएका छन् । उनले त्यसका लागि सरकारले अनुकूल वातावरण बनाउन नसकेको बताए ।

आज बुटवलमा पार्टी केन्द्र, प्रदेश, जिल्ला तहका नेताहरु सँगको परामर्श बैठकमा उनले अहिलेको राजनीतिक अवस्था र पार्टीको रणनीतिका विषयमा बोल्दै उनले अहिले लोकतन्त्रवादी शक्तिहरु एक हुनुको विकल्प नरहेको जनाएका हुन् ।

‘अहिले लोकतन्त्र नै खतरामा रहेको छ, यस्तो बेला लोकतन्त्रवादी शक्तिहरु एक हुनुको विकल्प छैन, एमालेले सरकारले निर्वाचनको तयारी राम्रोसँग अगाडि बढाओस् भन्ने पक्षमा हो तर त्यो भइरहेको छैन’ उनले भने ‘निर्वाचन लोकतन्त्रको प्राण हो भन्ने कुरा एमालेलाई राम्रोसँग थाहा छ, हामीले निर्वाचनमा जान्नौं कहिले भनेका छैनौं तर सरकारले हल्ला बढी वातावरण बनाउने काम कम गरेको छ ।’

उनले जेनजी आन्दोलनमा युवा पिँढीले उठाएका माग जायज भएपछि विध्वंशकारीले हाइज्याक गरेर मुलुकलाई बर्बादीमा पारेको जनाए । ‘गम्भीर प्रकृतिका मुद्दा खेपेकाहरु अहिले कारगारबाट बाहिर छन्, त्यतिबेला लुटिएका हतियार अझै फेला परेका छैनन्, सुरक्षा निकायको मनोबल बढ्नै सकेको छैन, सामान्य विषयमा उनीहरुले कुनै निर्णय लिएर काम गर्नसकेका छैनन् अनि निर्वाचनमा कसरी सुरक्षाको ग्यारेन्टी हुन्छ रु’ उनले भने ।

आमनागरिकले स्वतन्त्र र भयरहित वातावरणमा मत दिन पाउने आधार सुनिश्चित गराउनेतर्फ सरकारले विशेष चासो दिनुपर्ने उनले बताए । तोकिएको समयमा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त नभएको उनको भनाइ थियो । उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको तयारी भइरहेको र वातावरण बनिरहेको बताएपनि निर्वाचनका निम्ति गर्नुपर्ने कामहरु नभएको बताएका हुन् ।

‘तोकिएको समयमा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैनौं तोकिएको समयमा निर्वाचन होस् सबै नागरिकले निर्भयको वातावरणमा भाग लिन सकुन् सबै राजनीतिक दलहरु निर्वाचनमा जान सकुन् भन्ने हो’ उनले भने ‘अहिले पनि एकातर्फ निर्वाचन हुन्छ भन्ने चर्चा चलिरहेको छ प्रचार पनि भइरहेको छ सामान्य कामहरु भएको पनि देखिन्छ । निर्वाचनका निम्ति गर्नुपर्ने कामहरु हुनुपर्नेमा भएका छैनन्।’

एमाले महाधिवेशनपछि पार्टीको संगठन सुदृढ गर्नेतर्फ लागिरहेको र मुलुकमा देखिएको संकटबाट निकास दिनका लागि पार्टी संगठनलाई परिचालन गर्ने काम गरिरहेको उनको भनाइ थियो । यो छलफलमा एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित एमाले छाडेको घोषणा गरेर फिर्ता आएका नेता बासु घिमिरेसहित सहभागी रहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *