
कैलाली । धनगढी रङ्गशालामा जारी बद्री कुन्ता मेमोरियल यु१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा सङ्घर्ष क्लब गोदावरी र फारवेष्ट पशुपति क्लब धनगढी विजयी भएका छन् ।
शनिवार सम्पन्न पहिलो खेलमा सङ्घर्ष क्लब गोदावरीले भजनी क्लब भजनीलाई १२–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ । पहिलो हाफमा ४ गोल गरेको सङ्घर्ष क्लबले दोस्रो हाफमा थप ८ गोल गर्यो । उसका लागि दुई खेलाडीले ह्याट्रिक गरे । रोहित आउजीले ह्याट्रिक सहित पाँच गोल गरे । व्यक्तिगत ५ गोल गरे उनी म्यान आफ दी म्याच पनि चुनिए । त्यस्तै राजेश नेपालीले पनि ह्याट्रिक गरे ।
शनिवार नै सम्पन्न दोस्रो खेलमा धनगढीको फारवेष्ट पशुपति युवा क्लबले बर्दगोरिया स्पोटर्स एन्ड इभेण्टसलाई २ – ० को गोल अन्तरले पराजित गर्दै पहिलो खेलमै जित निकालेको छ । फारवेष्ट पशुपति युवा क्लबले दुवै गोल पहिलो हाफमै गरेको थियो ।
उसको जितका लागि प्रदीप बिस्टले खेलमै तेस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफको ४५औँ मिनेटमा कप्तान अमिर सिंहले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । कप्तान अमिरको गोल नै टिमको जितका लागि पर्याप्त भयो । उनी म्यान अफ दी म्याच पनि चुनिए ।
दोस्रो हाफमा अत्यन्तै सुधारिएको खेल प्रदर्शन गरेपनि गोल गर्न नसक्दा बर्दगोरिया स्पोटर्स एन्ड इभेण्टस प्रतियोगिताबाट बाहिरिएको छ । कैलाली जिल्ला फुटबल सङ्घको आयोजना सुरु भएको प्रतियोगितामा जिल्लाका सबै स्थानीय तहका क्लबहरूको सहभागिता रहेको छ ।
पौष २६ गतेसम्म जारी रहने प्रतियोगिताको विजेता टोलीले नगद २ लाख,आकर्षक ट्रफी र मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।
प्रतियोगिताका विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पनि नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Leave a Reply