जेन्जी आन्दोलनका उपाध्यक्ष अर्जुन शाही ठगी र आपराधिक विश्वासघात अभियोगमा पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा फरार रहेका अर्जुनबहादुर शाहीलाई पक्राउ गरेको छ ।

उनलाई मनसरी घलेसमेतको जाहेरीमा पक्राउ गरिएको हो । अछाम, पञ्चदेव विनायक नगरपालिका ४ घर भइ काठमाडौं, रानीपोखरी बस्ने २६ वर्षीय शाही ठगी तथा आपराधिक विश्वासघात र बैंकिङ कसूर (चेक अनादर) मुद्दाका फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शाहीउपर विभिन्न मितिमा विभिन्न मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रवक्ता पवन कुमार भट्टराईले बताए ।

शाही यसअघि असोज २९ गते बुधबार पनि पक्राउ परेका थिए । त्यतिखेर प्रहरीले जेन्जी भन्दै विभिन्न सरकारी कार्यालयमा गएर धम्क्याउने शाहीलाई कोटेश्वरबाट पक्राउ गरेको थियो । उनी त्यतिखेर पनि विभिन्न अपराधिक मुद्दामा फरार देखिएकाले पक्राउ परेका थिए ।

शाहीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पनि धम्क्याउँदै राजीनामा मागेका थिए । बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगीलगायतका विभिन्न आपराधिक कसुरमा शाही फरार थिए ।

शाहीले अख्तियारमा पनि ज्ञापन पत्रसहित राजीनामा माग्न पसेका थिए । उनी सुशीला कार्कीको शपथको क्रममा सुधनसँगै जेन्जीको सहसंयोजक बनेर शीतल निवास छिरेका थिए । इलाम–२ बाट डोजर चिन्हमा उपचुनावमा उठेका उनले जम्मा ५५ भोटमात्र पाएका थिए ।

शाही अहिले जेन्जी रिभोलुसन नेपाल गठन गरेर संयोजक बनेका छन् । आन्तरिक सरकार गठन गर्ने वार्ता समितिका सहसंयोजकसमेत रहेका उनले केही दिनअघि पत्रकार सम्मेलन गरेर आफूलाई फसाउन जेन्जी आन्दोलनको उपलब्धि हत्याउन एकाएक जेन्जी अगुवा बनेर आएका केही हाइज्याकरहरुले षड्यन्त्र गरेको ठोकुवा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *