
सुर्खेत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको जनश्रम बंगाल र अरबको खाडीमा बेचेर देश कहिल्यै धनी नहुने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेश प्रादेशिक कार्यालय अन्तर्गतका १० उत्कृष्ट ग्राहकलाई सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विद्युतिकरण गाउँगाउँमा पुर्याउनुपर्छ ।’ उनले थपे, ‘विद्युत नपाएका ग्राहकले पाउनुपर्छ र उहाँहरुले बिजुली पाएपछि उद्योग–धन्दामा लाग्नुपर्छ ।’
उनले आफ्ना उत्कृष्ट ग्रहकलाई सम्मान गर्ने, विश्वसनीय विद्युत आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याहरुको जानकारी लिने तथा समस्याको पहिचान गर्ने अभियान कोसी प्रदेशबाट सुरुवात गरेको भन्दै कर्णालीसम्म आइपुगेको बताए ।
‘गत जेठमा कोसी प्रदेशबाट शुरु गरेको यो अभियान मधेश प्रदेश, गण्डकी हुँदै कर्णालीमा सम्पन्न भएको छ,’ उनले भने, ‘उद्योगी–व्यवसायीसँग नेपाल विद्युत प्राधिकरण नकारात्मक भयो कि भन्ने आशंका चिर्न र हाम्रा इमान्दार ग्राहकलाई अन्याय गर्नुहुँदैन उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर यो अभियानको सुरुवात गरेको हो ।’
उनले अभियानले प्राधिकरणलाई ग्राहकमुखी भएर सोच्न बाध्य बनाएको र त्यसले थप अघि बढ्न प्रेरणा मिलेको उल्लेख गरे ।
शाक्यले प्राधिकरणको मुख्य स्रोत नै उभपोक्ता भएको भन्दै विद्युत उपयोग गर्ने उपभोक्ताले उत्पादनमुखी काम गरेर अर्थतन्त्रमा टेवा दिएको उल्लेख गरे । ‘एक रुपैयाँको बिजुली प्रयोग गरेर उपभोक्ताहरुले त्यसको चार–पाँच गुणा बढी उत्पादन गर्नुभएको हुन्छ र त्यहीअनुसारको योगदान मुलुकको अर्थतन्त्रमा दिइरहनु भएको हुन्छ,’ उनले भने, ‘रोजगारीको सिर्जना त्यहिबाट हुन्छ र त्यसले हामी सबैको जीवनस्तरमा सुधार गरेको हुन्छ ।’
शाक्यसँगै कर्णाली भ्रमणमा रहेका प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले प्राधिकरणका तर्फबाट कर्णाली प्रदेशमा गर्नुपर्ने काम अझै धेरै छ भन्दै कर्णाली प्रदेशमा अझै भरपर्दो विजुली दिन नसकिरहेको उल्लेख गरे ।
प्राधिकरणका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शशिभुषण साहले कार्यकारी प्रमुख नै कर्णाली आएर उहाँको हातबाट कालोसूचिमा नपरेका र सबै भन्दा बढी विद्युत खपत गर्ने १० उत्कृष्ट ग्राहकलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको बताए ।
सम्मानित हुने उत्कृष्ट १० उद्योगी तथा व्यवसायीको तर्फबाट बोल्दै केशव बुढाथोकीले आफूहरुले लामो समयदेखि भोल्टेज कम र अघोषित लोडसेडिङको समस्या भोग्न बाध्य भएको भन्दै नियमित विद्युत आपूर्तिको व्यवस्थाका लागि भरपर्दो पहल गरिदिन आग्रह गरे ।
१३२ केभी प्रसारण लाइन १५ दिन भित्र सञ्चालमा ल्याउन निर्देशन
कार्यकारी निर्देशक शाक्यले १३२ केभी प्रसारण लाइन सञ्चालनसँगै कर्णालीको औधोगिकरण शुरु हुने र कर्णाली विकासको गतिमा अघि बढ्ने पनि दाबी गरे । कर्णालीको निरीक्षण भ्रमणकै क्रममा उनले कोलपुर, सुर्खेत, दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गर्दै यस्तो बताएका हुन् ।
सम्मानित हुने १० उद्योग र व्यवसायी
गुनाङडोङ युनटाइन रमा जेभी क्रसर, सुर्खेत, खलङ्गा सितलपार्टी खानेपानी उपभोक्ता, सल्यान, सुभघाट सहरी खानेपनी, सुर्खेत, विजयी श्री चौरजहारी सुखा खानेपानी तथा सरसफाई रुकुमपश्चिम, खलङ्गा सितलपार्टी खानेपनी र उपभोक्ता सल्यान, वीरेन्द्रनरगर औधोगिक क्षेत्र सुर्खेत, शंखमुल ग्रमिण विद्युत लुहाम बजार, सल्यान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत र शुभघाट सरकारी खानेपनी सुर्खेत ।


Leave a Reply