
कैलाली । विभिन्न पार्टीहरूले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक सूची अहिले निकै विवादित बनेको छ । समानुपातिक प्रणालीलाई नै मात दिनेगरि तरमाराहरुको नाम सिफारिस गरेको आरोपबाट अधिकांश पार्टीमाथि छ ।
नयाँ र नौला अनुहार देखाएको नेपाली कम्युनिस्ट पार्टी नेकपा भित्रको समानुपातिक सूचिबारे डोटीमा अहिले तीव्र विरोध भइरहेको छ । पार्टीलाई सहयोग गरेकाहरू प्राय समानुपातिकमा पर्ने गरेका छन् । तर डोटीमा पार्टीलाई असहयोग गरेका व्यक्तिलाई नै समानुपातिक सूचिमा राखेको भन्दै त्यसको विरोध भइरहेको हो ।
स्थानीय तहको निर्वाचनमा पार्टीलाई मतदान नगरेको त्यसअघिका निर्वाचनहरूमा पनि पार्टीलाई सहयोग नगरेको , पार्टीलाई भोट नदिएको, पार्टीको गतिविधिमा संलग्न नरहेको भन्दै २०७९ भदौ १५ गते कारबाहीको सिफारिस भएकी अन्जिता श्रेष्ठ नै अहिले नेकपाको बन्द सूचिमा छिन् ।
साबिक नेकपा (माओवादी केन्द्र) प्रदेश उप–सचिवको जिम्मेवारी रहे पनि उनलाई स्थानीय पालिका कमिटीले निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि सहयोग नगरेको भन्दै साबिक माओवादी डोटीको दिपायल सिलगढी नगर समिति अध्यक्ष अशोक कुमार सोपले कारबाहीको सिफारिस गरेका थिए ।

स्थानीय तहको निर्वाचनमा सहयोग नगरेको आरोप लागेकी श्रेष्ठ नै आगामी निर्वाचनको लागि डोटीबाट प्रत्यक्ष निर्वाचनको उम्मेदवारका लागि सिफारिस भइन् । प्रत्यक्षतर्फ सिफारिस भएकी उनलाई पार्टी नेतृत्वले समानुपातिक उम्मेदवार बनाएर बन्द सूचिमा राखेपछि थप डोटीमा थप विवाद भएको हो ।
‘पहिलो कुरा त उहाँमाथि कारबाहीको सिफारिस भएको छ । त्यसमाथि फेरी प्रत्यक्षको उम्मेदवार बनाउने भनी सिफारिस गरिएको छ तर, उहाँ आज उहाँको नाम बन्द सूचिमा परेको देख्दा हामी अचम्मित भएका छौँ’ समानुपातिक सिफारिस भएका एक उम्मेदवारले भने ‘हाम्रो नाम सिफारिस भएको छ तर बन्द सूचीमा परेनौँ, उहाँको नाम नै सिफारिस भएको छैन बन्द सूचीमा पर्नु भएको छ । यो अन्याय हो ।’
महिला जनजातितर्फबाट जिल्लामा प्रत्यक्ष निर्वाचन लड्नेगरी सिफारिस भएकी श्रेष्ठलाई सिफारिस नै नभएको समानुपातिक बन्द सूचिमा आदिवासी जनजातितर्फ छैटौँ नम्बरमा राखिएको छ।
उम्मेदवार सिफारिस कार्यदल भित्रका त्रिलोचन भट्टले आफूले केन्द्रीय सर्कुलर अनुसार नै प्रत्यक्ष र समानुपातिक सिफारिस गरिएको बताए । उनले भने ‘हामीले केन्द्रको सर्कुलर अनुसार प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेका थियौँ । अहिले फरक भए त्यो केन्द्रको कुरा हो ।’
सिफारिस नै नभएको व्यक्तिलाई बन्द सूचिमा राखेपछि जिल्लाबाट सिफारिस भएका १० जनामध्ये ८ जनाले असहमति पत्र नै जारी गरेर विरोध जनाएका छन् ।

‘नेकपाको तर्फबाट डोटी जिल्ला सिफारिस कार्यदलले पठाएका समानुपातिक प्रतिनिधिहरूमध्येबाट बन्द सूचिमा नाम सिफारिस गर्नुपर्ने थियो तर, उक्त निर्णय र पार्टीको विधि र पद्धति विपरीत गई सिधै केन्द्रबाटै जसले पाटीको २ वटा चुनावमा समेत पार्टीलाई भोट नदिई काठमाडौं मै बसिरहने व्यक्तिलाई सिफारिस गरिएको हुँदा यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ ८ जनाले हस्ताक्षर गरिएको असहमति पत्रमा भनिएको छ,‘यदि सो निर्णय यथाशीघ नसच्चाइए यही पद्धतिबाट पार्टी अगाडी बढे हामी चुनावी मैदानमा खट्न नसक्ने ब्यहोरासहित असहमति पत्र जाहेर गर्दछौँ ।’
यसरी असहमति पत्रमा हस्ताक्षर गर्नेमा डम्मर घर्ती मगर, सिता राइमाझी, गोरखबहादुर सार्की, त्रिचन्द श्रेष्ठ, कृष्ण दर्लामी, लक्ष्मणनाथ योगी, नन्दलाल विक र दिलीप कठायत छन् । यीसहित पूर्णा जोशी र डबल ताम्राकारको पनि नाम समानुपातिक सूचिको लागि सिफारिस गरिएको थियो । तर, केही परेनन् ।
समानुपातिकमा सिफारिस भएकालाई पाखा लगाएर प्रत्यक्षमा सिफारिस भएकालाई समानुपातिकबाट बन्द सूचिमा राखिएकोमा विरोध गरेको उनीहरूले बताएका छन् । तर, श्रेष्ठले भने यस विषयमा धेरै बोल्न चाहिनन् । उनले भनिन् ‘यो पार्टी भित्रको कुरा हो छलफल चलिरहेको छ ।’

Leave a Reply