एकतालगत्तै कुलमान असन्तुष्ट, उज्यालोको टिमलाई आफैंले पठाएका थिए आयोग

काठमाडौ । पार्टी एकताको सहमति गरेको एक साता नबित्दै कुलमान घिसिङ रास्वपासँग असन्तुष्ट बनेका छन् ।

उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायसहितको टिम आज निर्वाचन आयोग पुग्नुले एकता प्रक्रियामा गम्भीर विचलनको संकेत गरेको छ ।

रास्वपाले बालेनलाई भित्र्याएलगत्तै कुलमानले पनि हतारमा पार्टी एकताको निर्णय गरेका थिए । उनी रास्वपाको उपसभापति बनिसकेका छन् ।

समानुपातिक उम्मेदवारका लागि निर्वाचन आयोगमा पेश गरिएको बन्दसूचीमा उज्यालोका तर्फबाट १४ जनाको नाम छ । सुरुमा १८ जना राख्ने सहमति भए पनि ४ जनाको नाम काटिएको दाबी उज्यालोतर्फका नेताहरुले गरिरहेका छन् । तर, विवादको विषय यो मात्र होइन ।

आफ्नो पार्टीलाई विलय गराएपश्चात रास्वपामा पर्याप्त स्पेस नदिएर पेल्न खोजिएको भन्दै घिसिङ र उनको टिम असन्तुष्ट बनेको स्रोतले बतायो । पार्टीको केन्द्रीय समितिमा र प्रत्यक्ष निर्वाचनमा उल्लेख्य स्थान नपाउने खालको स्थिति देखिएको कुलमाननिकट स्रोतको दाबी छ ।

स्रोतले भन्यो, ‘अहिले समानुपातिकको बन्दसूचीमा हाम्रो टिमबाट रिमा विश्वकर्मा मात्रै संसदमा पुग्ने निश्चित देखिन्छ । प्रत्यक्षमा पनि पार्टीको अवस्था कमजोर रहेका ठाउँहरुमा मात्रै टिकट मिल्नेजस्तो कुरा आयो । जित्ने ठाउँमा उनीहरुले (रास्वपा र बालेन) ले आपसमा बाँडचुँड गर्न खोजेका छन् । यस्तो पेलान सहेर हामी सँगै यात्रा गर्न सक्ने अवस्था रहँदैन ।’

दुई पक्षबीच वैचारिक रुपमा पनि मतभेद देखिएको छ । एकताको राजनीतिक दस्ताबेजमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र पहिचानवादी एजेन्डाहरुमा कडा प्रतिबद्धता जनाउनुपर्ने पक्षमा कुलमान छन् । तर रास्वपा नेतृत्व भने प्रदेशसहितको संघीयता र जातीय एजेन्डाहरुप्रति आलोचनात्मक छ । दस्ताबेजमा संघीयताप्रति प्रतिबद्धता जनाउने विषयमा पनि रास्वपा र कुलमानको फरक मत देखा परेको हो ।

यदि वैचारिक रुपमा पनि एक ठाउँमा उभिन नसकेको खण्डमा रास्वपमा नबस्ने निष्कर्षमा कुलमान पुग्न आँटेको स्रोत बताउँछ । कुलमानले अब प्रत्यक्षमा यो यो क्षेत्र चाहिन्छ भनेर माग राख्ने र त्यसमा बालेन र रविले लिखत नगरेको खण्डमा आफ्नो बाटो लाग्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार निर्वाचन आयोगमा बन्दसूची बुझाएका तर राष्ट्रिय पार्टी बन्ने सम्भावना नरहेका दलहरुसँग उज्यालोका नेताहरुको कुरा भइरहेको छ । रास्वपासित मिल्ने अवस्था रहेन भने बल्ब चिह्न लिएर प्रत्यक्षमा आफ्ना उम्मेदवार उठाउने मनस्थिति कुलमानले बनाएका छन् । समानुपातिकमा भने बन्दसूची बुझाउने समयावधि घर्किसकेको छ ।

‘समानुपातिकमा अर्को पार्टीसँग मिल्ने र प्रत्यक्षमा आफ्नो चुनाव चिह्नमा उठाउने सम्भावनामाथि पनि छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।

यही विषयमा बुझ्न आज उज्यालोको टिम निर्वाचन आयोग पुगेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *