गगनको भिडिओ सन्देश- चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि नै राज्यका मुख्य संरचना सुधार गर्न राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव गरेका छन् ।

बिहीबार राति एक भिडिओ सन्देशमार्फत् उनले सरकार परिवर्तन र नियमित निर्वाचनले मात्रै मुलुकको विद्यमान जटिल समस्या समाधान नगर्ने बताए । निर्वाचनले संविधानलाई गति दिने भए पनि प्रशासनिक र कार्यकारी निर्णयबाट मात्रै संरचनागत समस्या हल हुन नसक्ने उनको भनाइ छ ।

जेन-जी मुभमेन्ट र भदौ २३-२४ का घटनाहरूले नागरिकमा व्याप्त चरम असन्तुष्टि, भ्रष्टाचार र कुशासनप्रतिको आक्रोशलाई प्रतिविम्बित गरेको भन्दै थापाले आन्दोलनको म्याण्डेट संस्थागत गर्न सबै सरोकार एक हुनुपर्ने तर्क गरेका छन् ।

थापाले निर्वाचन प्रणाली र संवैधानिक निकायका नियुक्तिमा पनि सुधारको खाँचो औँल्याएका छन् । संविधानमा निश्चित मापदण्ड नै तोक्नुपर्ने भन्दै उनले कानूनी छिद्रमा खेलेर गलत प्रयोग गर्दै आएको स्वीकारेका छन् । समानुपातिकको सूची हेर्दा पुराना र नयाँ दल सबै उस्तै देखिएको थापाको भनाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतजस्ता संवैधानिक निकाय पनि राजनीतिक भागबन्डाको सिकार भएको भन्दै संवैधानिक परिषदको संरचना र नियुक्ति प्रक्रियामा ‘पब्लिक हियरिङ’, रोष्टर प्रणालीजस्ता पारदर्शीता अपनाउनुपर्ने सुझाएका छन् ।

२०६२/६३ को जनआन्दोलनअघि दलहरूबीच भएको सहमतिको स्मरण गर्दै थापाले आगामी निर्वाचनअघि नै त्यस्तै प्रकृतिको राष्ट्रिय संवाद आवश्यक रहेको बताएका छन्

उनले भने, ‘चुनाव आफ्नो ठाउँमा हुन्छ, प्रतिस्पर्धा हुन्छ । तर, चुनावपछिको संसदले संविधान र कानुनमा के-के सुधार गर्ने भन्नेमा चुनावअघि नै सहमति गरौँ । यसका लागि नागरिक समाज र अगुवाहरूले दलहरूलाई एक ठाउँमा ल्याएर मध्यस्थता गरिदिनुपर्छ ।’

नयाँ र पुराना सबै दलहरूलाई एउटै टेबुलमा बसेर शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण र संस्थागत सुधारका एजेन्डामा साझा धारणा बनाउन अपिल गर्दै थापाले आउँदा दिनमा सुधारका एजेण्डाहरूमाथि शृंखलाबद्ध सार्वजनिक बहस चलाउने पनि जानकारी गराएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *